नेपाल संस्कृत विश्वविद्यालय : सुध्रिन नसकेको विश्वविद्यालय – Kanika Khabar
Sunday, May 19Nepali News Portal

नेपाल संस्कृत विश्वविद्यालय : सुध्रिन नसकेको विश्वविद्यालय

    मा प्रकाशित
खेमराज रिजाल
वेलझुण्डी, १६ असार ।
वेलझुण्डी संस्कृत विश्वविद्यालयको प्राङ्गणमा अहिले आँप पाक्न थालेका छन् तर विद्यार्थी चैनमा छैनन् । विद्यार्थी बेचैन हुँदा विश्वविद्यालय प्रशासन कानमा तेल हालेर बसेको छ । कारण ताला लगाउनेको माग पूरा गर्न विश्वविद्यालय प्रशासन असमर्थ छ । नेपाल संस्कृत विश्वविद्यालयमा अहिले चारवटा विभागमा तालाबन्दी गरिएका छन् । ती निकायमा तालाबन्दीको सन्दर्भमा विद्यार्थी सङ्गठनले जे–जे माम गरे पनि अन्ततः विश्वविद्यालयको तालाबन्दी हरेकका आफन्तलाई जागिर खुवाउने र भागबण्डामा आफ्नालाई आरक्षण दिने मात्रै हो । यो रोग अहिलेको मात्रै होइन, दश वर्ष पहिलेदेखिकै हो ।
विद्यार्थीले आवश्यक पुस्तकालय पाएका छैनन्, प्रयोगशाला पाएका छैनन् नियमित कक्षा उनीहरूको भएको छैन । विद्यार्थीभन्दा शिक्षक धेरै भएको अवस्था नेपाल संस्कृत विश्वविद्यालयमा छ तर बेलझुण्डीमा तालझुण्डी भाइरस अब क्यान्सरजस्तै भएको छ । माग जे–जे भए पनि भागबण्डामा जागिर नै ती ताला लगाउने सङ्गठनको भित्रि आशय हो । नेपाल संस्कृत विश्वविद्यालय जागिर खाने मात्रै अखडा हो भने यसलाई डिजर्ब गर्नुको विकल्प छैन ।
नेपाल संस्कृत विश्वविद्यालयको बाह्रौ दीक्षान्त समारोहमा नेपाल सरकारका प्रधानमन्त्री तथा सो विश्वविद्यालयका कुलपति पुष्मकमल दाहालले ‘जयतु संस्कृतम्’ भनेर विश्वविद्यालयका सबै विषयवस्तुलाई राज्यले अङ्गीकार गर्ने उद्घोष गरेका थिए तर पनि विश्वविद्यालयमा अझै गतिशीलता आउन सकेको छैन । जग्गादाताले यसलाई तालझुण्डी भाइरसको उपमा दिएका छन् । स्थानीयबासी तथा जग्गादाता परिवारकाअनुसार नेपाल संस्कृत विश्वविद्यालयलाई तालझुण्डी भाइरस होइन, क्यान्सर नै लागेको छ ।
क्यान्सर रोग निको पार्न निकै कठिन छ । त्यो भनेको जागिरको भागबण्डा मात्रै हो तर विद्यार्थीले लुकेको मागलाई सम्बोधन गर्न शैक्षिक माग समेत राखेर विश्वविद्यालयका मुख्य इकाईहरूमा तालाबन्दी गरेका छन् । तालाबन्दीमा राखिएका माग कुनै पूरा हुने छैनन् । ताला लगाउनेहरू पनि भाइरस हुन् । अन्ततः ती भाइरस क्यान्सरको स्वरूप लिनेछन् । उनीहरूका माग देखाउनका लागि फरक भए पनि अन्ततः जागिरोन्मुख नै छन् । यस अघि लागेको ताला पनि जागिरको सम्बोधन भएपछि खुलेको थियो । ताला लगाउनेले कहीँ न कहीँ एक जनालाई जागिर खुवाएपछि ताला खुलेको थियो ।
अहिलेको तालबन्दी भाइरस हो या क्यान्सर ? आम नागरिकले विश्वविद्यालय प्रशासनलाई सोधिरहेका छन् । विद्यार्थीभन्दा शिक्षक बढी हुँदा पनि विश्वविद्यालय प्रशासन मौन छ । विश्वविद्यालयमा कुनै पनि कर्मचारी सेवा आयोगको परीक्षा दिएर माथिल्लो तहमा पुगेका होइनन् । कतिपयले त सेवा आयोगका प्रमुखलाई पैसा मासिक पारिश्रमिकबाट कटिने गरी अतिरिक्त रकम पनि दिएर जागिरे बनेको आरोप लाग्ने गरेको छ । ‘यसको प्रमाणीकरण पछि गरौँला तर विश्वविद्यालयका आन्दोलन जागिरकै लागि हुने गरेका छन्’, एक जना स्थानीयले भने ।
दीक्षान्त समारोह सम्पन्न गरी नयाँ गति लिन थालेको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयमा फेरि पुरानै रोग बल्झिन थालेको छ । त्यहाँका प्राध्यापक डाक्टरहरूले त्यो रोगलाई तालझुण्डी भाइरसको सङ्क्रमण भनेका छन् । सबै भाइरसको एउटै उद्देश्य भनेको भागबण्डामा रोजगारी हो । स्ववियु, अनेरास्ववियु र नेविसङ्घले विभिन्न माग राखेर नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्ववियुले विश्वविद्यालयको कार्यालयमा असार ८, अनेरास्ववियुले केन्द्रीय आयुर्वेद विद्यापीठमा असार ३ र नेविसङ्घले सेवा आयोगको कार्यालय र डिनको कार्यालयमाा असार ९ गते तालाबन्दी गरेका छन् । ती विद्यार्थी सङ्गठनले आ–आफ्नो भागमा परेका विभागमा तालाबन्दी गरेका हुन् । फरक तालामुनि फरक–फरक माग प्रस्तुत गरिएका छन् ।
सामन्यतः विश्वविद्यालय दुईतिहाइ समयमा चल्नुपर्ने हो तर नेपाल संस्कृत विश्वविद्यालयका इकाईहरूमा दुई सय दिन तालाबन्दी हुने गरेको छ । यो विषय विश्वविद्यालय अनुदान आयोगलाई जानकारी नहोला तर पनि विश्वविद्याययको बजेट बालुवामा पानी जस्तै भएको छ । न विद्यार्थीलाई नियमित पठनपाठन, न त आयुर्वेद स्नातक तहलाई आवश्यक प्रयोगान्तम कक्षा र ओपिडीको व्यावस्थापन । यस्तै अवस्था हो भने नेपाल संस्कृत विश्वविद्यालयको हविगत टाँट पल्टने अवस्थामा छ ।
अमूर्त माग छन् विद्यार्थीका
विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि विश्वविद्यालयका कर्मचारी प्राङ्गणमा बसेका हुन्छन् । यता विद्यार्थीले भने विश्वविद्यालयले आफूहरूको मागमा बेवास्ता गरेका कारण तालाबन्दी गरेको बताउँछन् । पटक–पटक विभिन्न मागहरू बुझाउँदै आएको भए तापनि विश्वविद्यालयले बेवास्ता गरेपछि अन्तिम विकल्पका रूपमा तालाबन्दी गर्नु परेको केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीका स्ववियु सभापति हेमन्त बञ्जाडेले बताए ।
उनकाअनुसार केन्द्रीय आयुर्वेद विद्यापीठ सञ्चालन भएको करिब एकदशक पुग्दा पनि शिक्षण अस्पताल नहुनु, इन्टर्नसिपको भत्ताको उचित व्यवस्थापन नहुनु, पुस्तकालयमा आउने बजेट एकदमै न्यून मात्र हुनु, छात्राबासको व्यवस्थापन नहुनु जस्ता माग राखेर विद्यापीठको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
यस्तै उनले हिजोका दिनमा आफूहरू सडकमा बसेर विभिन्न माग गर्दै आइरहेको भए तापनि अहिलेसम्म पनि ती माग सम्बोधन नभएको भन्दै अहिले संस्थागत रूपमा तालाबन्दी गरेका कारण सम्बोधन हुनेमा आशावादी रहेको समेत बताए । उनले गत बैशाख १५ गते विभिन्न माग राखेर विश्वविद्यालयमा मागपत्र बुझाएको भए तापनि आफूहरूलाई बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरिएको समेत बताए ।
केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी दाङ स्ववियु सचिव गणेश पौडेलले विश्वविद्यालयजस्तो पवित्र ठाउँमा तालाबन्दी नहुनु पर्ने भए पनि विद्यार्थीको मागलाई सम्बोधन नगर्दा आफूहरू बाध्य भएर तालाबन्दी गरेको बताए । उनकाअनुसार शिक्षण अस्पताल सञ्चालन हुनुपर्ने, छात्राबासको व्यवस्था महिला र पुरुष सबैलाई हुनुपर्नेलगायतका माग राखेर तालाबन्दी गरिएको हो । अहिले विद्यापीठमा शिक्षण अस्पताल नहुँदा विद्यार्थी बाहिर गएर काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले जुनसुकै बेला आफूहरूलाई निकाल्न सक्ने बताए ।
यस्तै इन्टर्नसिपमा विद्यार्थीले पाउनु पर्ने पैसा पनि नपाएको उनले बताए । आफूहरूले प्रथम चरणमा क्याम्पस प्रमुखलाई मागपत्र बुझाएको भए तापनि त्यो मागलाई बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको उनको भनाइ छ । उनले भने, ‘तालाबन्दी गर्ने हाम्रो रहर होइन् । हामीले पटक–पटक यी माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाउँदै आएका छौँ तर त्यसको कुनै सुनुवाइ नभएपछि अन्तिम विकल्पका रूपमा तालाबन्दी गरेको हौँ । अहिलेसम्म कुनै कुरा भएको छैन् ।’
विश्वविद्यालयमा आफूहरूको मागका बारेमा कसैलाई मतलव नभएको भन्दै उनले यहाँ जागिर खानको लागि खोलिएको ठाउँ जस्तो भएको समेत बताए । उनले भने, ‘यहाँ विद्यार्थीको भविष्यको बारेमा भन्दा पनि राजनीतिक भागबण्डाका लागि भर्ती गर्ने ठाउँ भएको छ । हामीले अहिलेसम्म अन्योलताको हिसाबले पढिरहेका छौँ ।’ यस्तै पहिला विद्यार्थी सङ्ठनले आवाज उठाउँदै आइरहेको भए तापनि अहिले स्ववियु आइसकेपछि आफूहरूले माग उठाइरहेको समेत बताए ।
‘म यहाँको स्थानीय हो, मैले यहाँको बेथितिको बारेमा बुझिरहेको छु । अब यसको सुधारको लागि हामीजस्ता युवा लागेनौँ भने विश्वविद्यालय झन पछाडि पर्छ । विश्वविद्यालयको आय स्रोत अहिले केही छैन । आँप बेचेर नै विश्वविद्यालयको आय स्रोत हुन्छ तर यो आँपले पनि धान्न सक्दैन । कर्मचारी धेरै, भर्ती गर्ने ठाउँ भएको छ’, उनले भने ।
दरबन्दी पुगेन
नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीकाअनुसार विश्वविद्यालयले भने करिब एकदशकदेखि आयुवर्देको बिएएमएसको पठनपाठन सुरु गरेको भए पनि अहिलेसम्म राज्यले कुनै दरबन्दी नदिँदा विद्यार्थीको अपेक्षाअनुरूप सेवासुविधा पु¥याउन सकेको छैन । विद्यार्थीले गर्दै आएका मागमध्ये केही विश्वविद्यालयले सम्बोधन गर्दै आएको उनको भनाइ छ ।
उनले भने, ‘ई–लाइब्रेरीको लागि केन्द्रीय आयुर्वेद विद्यापीठलाई

५ लाख रूपैयाँ यो आर्थिक वर्षमा छुट्याइएको छ । प्रत्येक वर्ष पुस्तक खरिद गर्न २ लाख रकम छुट्याइन्छ भने यस वर्ष ओपिडी तथा विभाग निर्माणको लागि ४० लाख पुँजीगत बजेटमा छुट्याइएको छ ।’ उनका अनुसार विश्वविद्यालयका देशभर १४ वटा आङ्गीक क्याम्पस रहेको हुँदा थोरै पुँजीगत बजेट सरकारबाट प्राप्त हुने र त्यसैलाई विनियोजन गरेर काम हुन्छ ।

ठुलो रकम एउटै संस्थामा लगानी गर्न नसकिने भएकाले विद्यार्थीको मागअनुसार सम्बोधन नहुँदा उनीहरू असन्तुष्ट हुने गरेको समेत उनको भनाइ छ । यस्तै छात्राबासको लागि अहिले महिला छात्राबासलाई प्राथामिकता दिएर डिपिआर तयार गर्ने र टेण्डर गर्ने तयारीमा कार्यकारी परिषद्ले निर्णय गरिसकेको समेत उनले बताए । करिब ६० जना छात्रा अट्नसक्ने छात्राबासको निर्माण हुने समेत उनको भनाइ छ ।
उनले पछिल्लो समय विश्वविद्यालयमा आफूहरू आइसकेपछि दुई पटक मात्र तालाबन्दी भएको बताए । उनले भने, ‘हाम्रो पदाधिकारीहरूको टिम आइसकेपछि यहाँ भित्र के–कस्ता रचनात्मक काम भए भन्ने बारेमा त्यसको फेहरिस्त तयार गर्नुपर्ने हुन्छ । कति सकारात्मक काम भए, कति नराकात्मक काम भए त्यसको छिनोफानो गुण र दोषका आधारमा हुनुपर्ने हो ।
कतिपय कुरा तालाबन्दी नगरेर साङ्केतिक विरोधबाट पनि गर्नु पर्छ तर त्यसबाट पनि सम्बोधन नभएको खण्डमा तालाबन्दी गर्नुपर्ने हो । यहाँ सबैभन्दा पहिले तालाबन्दी गर्नुपर्छ भन्ने सोच बनेको छ ।’ गत वर्ष सेवा आयोगको विज्ञापन भएपछि त्यसको विरोधमा तालाबन्दी भएको थियो भने अहिले विभिन्न माग राखेर विद्यार्थीले तालाबन्दी गरेका छन् ।
अनेरास्ववियुले शैक्षिक क्यालेन्डर तत्काल प्रकाशित गरेर कार्यन्वयन गर्न, प्रत्येक कक्षा कोठामा प्रोजेक्टर तथा ल्यापटपको व्यवस्था गर्न, प्रयोगात्मक कक्षाको गुणस्तर वृद्धि गरी आवश्यक साधन यथाशीघ्र व्यवस्थापन गर्न माग गरेको छ ।
यस्तै प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तकको व्यवस्था गर्न, बस सञ्चालनमा ल्याई घोराही, तुलसीपुरका विद्यार्थीलाई सहज बनाउन र प्राचार्यको राजिनामा स्वीकृत गरी नयाँ नियुक्ति नियमानुसार विद्यापीठमै कार्यरतबाट बनाउन माग राखेर तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्ठनले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी, सेवा आयोग र विद्यापीठमा तालाबन्दी गरेका छन् ।
तालाबन्दी गर्दा शिक्षा आयोगको परीक्षा स्थगित भएको छ । एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसङ्घले तालाबन्दी गरेका हुन् । विद्यापीठमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कमिटीले ३ असारमा तालाबन्दी गरेको हो भने नेविसङ्घले ९ असारमा तालाबन्दी गरेको हो । उनीहरूका आ–आफ्नै माग छन् ।
नेविसङ्घले सेवा आयोगमा विज्ञ व्यक्तिको पदपूर्ति गर्नुपर्नेमा व्यक्तिवादी चिन्तन हाबी भएको तथा विश्वविद्यालयलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्नु गलत भएको भन्दै त्यसको विरोध गरेको छ । अनेरास्ववियुले शैक्षिक क्यालेन्डर तत्काल प्रकाशित गरेर कार्यन्वयन गर्न, प्रत्येक कक्षा कोठामा प्रोजेक्टर तथा ल्यापटपको व्यवस्था गर्न, प्रयोगात्मक कक्षाहरूको गुणस्तर वृद्धि गरी आवश्यक साधन यथाशीघ्र व्यवस्थापन गर्न माग गरेको छ ।
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्