दाङ, २२ असार ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ‘सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार २०७९’ दाङका संस्कृतिविद् डा. गोविन्द आचार्यलाई प्रदान गर्ने भएको छ । नेपाल सरकार माननीय मन्त्रीस्तरबाट आज भएको निर्णय बमोजिम डा. आचार्यलाई ‘सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार २०७९’ पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका डा. आचार्यले लोक, आधुनिक र दोहोरी गीत गरी दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन् भने झण्डै पाँच दर्जन गीतमा संगीत गरेका छन् ।
आचार्य नेपालमा लोगीतमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । उनले नेपालका विभिन्न जाति समुदायका ७ सय गीत संकलन तथा विश्लेषण गरेका छन् । उनका लोकसाहित्य तथा लोकसंस्कृति सम्बन्धी एक दर्जन पुस्तक प्रकाशित छन् ।
डा. आचार्य निरन्तर रुपमा लोकगीत तथा लोक संस्कृतिमा खोज तथा अनुसन्धानमा तल्लीन रहेका छन् ।
त्यस्तै मन्त्रालयले ‘युगकवि सिद्धिचरण राष्ट्रिय पुरस्कार २०७९’ काठमाडौँका मोहन सिटौलालाइ, ‘आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार २०७९’ चितवनका पोषराज पौडेललाई, प्रदान गर्ने निर्णय गरेको छ । साथै ‘महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९’ बाट भवानी क्षेत्री (झापा, कविता/काव्य), पुरुषेत्तम सुवेदी (काठमाडौ, निबन्ध/समालोचना), कुमार भट्टराई (काठमाडौ, गद्य आख्यान/नाटक), किसानप्रेमी (चितवन, बालसाहित्य), रोशन जनकपुरी (जनकपुर, भाषा साहित्य) लाई प्रदान गर्ने निर्णय गरेको छ ।