गौशाला निर्माणमा विवाद सिर्जना – Kanika Khabar
Monday, February 16Nepali News Portal

गौशाला निर्माणमा विवाद सिर्जना

    मा प्रकाशित

प्रियास्मृति गजमेर
लमही, २४ असार ।

स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गामा गाउँपालिकाले गौशाला बनाउँदा विवाद सिर्जना भएको छ । गढवा गाउँपालिका–६ मनिकापुरको करिब ४ बिगाह ऐलानी जग्गामा पालिकास्तरीय गौशाला निर्माणगर्न लागेपछि विवाद सिर्जना भएको हो ।

अतिक्रमण हुनसक्ने भन्दै जग्गाको संरक्षण र छाडा रहेका पशुचौपायाको व्यवस्थापन पनि हुने भन्दै जग्गामा गौशाला निर्माण गर्न लागेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । गौशाला निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा विवादले उग्ररूप लिँदै गएको छ । गौशाला निर्माण सुरु भएदेखि नै दुई पक्षबीच विवाद सुरु भयो ।

लामो समयदेखि आफूहरूले भोगचलन गर्दै आएको र जग्गा नापी टोलीले नापजाँच गरिसकेको भन्दै गौशाला निर्माण कार्य रोक्न भनेर अमृता बुढा मगरसहित मनिकापुरका केही स्थानीय जिल्ला अदालत पुगेका थिए । उनीहरूले दिएको उजुरीका आधारमा जिल्ला अदालत घोराहीले उक्त क्षेत्रमा कुनै पनि काम नगर्नु नगराउनु भनेर असार २० गते अल्पकालीन अन्तरिम आदेश दिएको छ । आदेशलाई कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय दाङ, गढवा गाउँपालिका र ६ नम्बर वडा कार्यालयलाई समेत जिल्ला अदालतले पत्राचार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले २८ गतेसम्म गौशाला निर्माणको काम रोक्न निर्देशन दिएको जानकारी दिए । ‘अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेपछि काम रोक्नु पर्छ, गाउँपालिका अध्यक्षज्यूलाई मैले काम रोक्नुस् भनेर भनिसकेको छु । २८ गतेसम्म कुनै पनि काम हुँदैन’, उनले भने, ‘छलफलको लागि दुवै पक्षलाई जिल्ला अदालत घोराहीले असार २८ गते बोलाएको छ ।’

खोलाले छोडेर बगर बनाएको ऐलानी जग्गा स्थानीयले भोगचन गर्दै आएको जग्गा हो । निस्सा भरेको जग्गामा सुनियोजित ढङ्गले गौशाला बनाइनु राजनीतिक प्रतिशोध भएको अमृता बुढा मगरले बताइन् । उनले भनिन्, ‘स्थानीयले लगाएको बालीनालीमा वडाध्यक्ष वीरबहादुर आलेको निर्देशनमा जेसिभी लगाउने काम भएको छ, यो सुनियोजित तरिकाले राजनीतिक प्रतिशोध साँध्ने काम भएको छ ।’

पालिकाले आर्थिक वर्ष २०७८/०७९ मा २२ लाख बजेट विनियोजन गरेर गौशाला निर्माण गर्न लागेको हो । वर्षौँदेखि स्थानीयले भोगचन गर्दै आएको उक्त सार्वजनिक जग्गामा एकाएक वडा र पालिकाले तारबार गर्दा आफूहरू मर्कामा परेको स्थानीय नारायणबहादुर केसीले गोरक्षलाई बताए । हामीले भोगचलन गर्दै आएको जग्गा प्राप्तिका लागि निस्सा समेत भरेका थियौँ तर हाम्रो सबै कागजात वडाध्यक्षकै मिलोमतोमा अगाडि बढ्न सकेन’, केसीले भने ।

गढवा गाउँपालिका–६ का वडाध्यक्ष आलेले खोलाले छोडेर बगर बनाएको ऐलानी जग्गा अतिक्रमण हुन लाग्दा जग्गाको संरक्षण गरेको बताए । साथै छाडा रहेका पशुचौपायाको व्यवस्थापन पनि हुने भएकाले गौशाला बनाउन लागेको बताए । ‘जग्गाको क्षेत्रफल धेरै छ, आवश्यक परेको बेला कुनै पनि सरकारी कार्यालय गराउन सकिने भएकोले हामीले संरक्षण गरौँ भनेर चारैतिर तारजाली लगाएका छौँ र गौशाला निर्माणको काम गरेका हौँ’, वडाध्यक्ष आलेले भने, ‘अतिक्रमण हुन लागेको जग्गा रोक्नुपर्छ भनेर समुदायको मागलाई हामीले कार्यान्वयन गरेका हौँ, यहाँ कुनै व्यक्तिप्रति पूर्वाग्राही गरेका छैनौँ’, आलेले भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्