`राेडमै तरकारी व्यापार´ – Kanika Khabar
Monday, February 16Nepali News Portal

`राेडमै तरकारी व्यापार´

    मा प्रकाशित

प्रियास्मृति गजमेर
लमही, ६ साउन ।

दाङकाे लमही बजारको बगैँचा रोड प्रत्येक दिन बिहान ४ देखि ७ बजेसम्म भरिभराउ हुने गरेको छ । बिहानै सागसब्जी लिन पुग्ने मानिस र तरकारी बेच्ने किसानको बाक्लो उपस्थितिले त्यहाँ भिड हुने गरेको हो ।

भिडले बजारको स्वरूप नै कुरूप पार्नुका साथै दुर्घटनाको उच्च जोखिम समेत निम्त्याएको छ । तरकारी बिक्री गर्न आएका किसानका कारण स्थानीय व्यवसायी पनि आजित भएका छन् । पसल अगाडि फोहोर हुने, भिडभाड हुनेजस्ता समस्या आएको उनीहरूको गुनासो छ । देउखुरीका हरेक ठाउँबाट तरकारी बेच्न त्यहाँ पुगेका किसान सडक छेउमा लस्करै बस्ने गरेका छन् । सडकै अवरुद्ध हुने गरी मानिसको भिडभाड हुने गरेको छ ।

देउखुरी तरकारी उत्पादनको हिसाबले पकेट क्षेत्र हो । यस क्षेत्रमा किसानले तरकारी उत्पादन गरी लाखौँ रूपैयाँको बिक्री गर्ने गर्छन् । लमही नगरपालिकाभित्र तरकारी खेती गर्ने किसानको सङ्ख्या बढी छ । स्थानीय सरकारले बजार व्यवस्थापनमा चासो नदिएको किसानको गुनासो छ । ‘हामीले दुःख गरेर तरकारी उत्पादन गछौँं, त्यो तरकारी सजिलै उपभोक्ताको घरसम्म पुग्ने अवस्था छैन’, लमही नगरपालिका–८ सतबरियाका शंकर चौधरीले भने, ‘सबै किसानसँग तरकारी ढुवानी गर्ने साधन छैन, मोटरसाइकल र साइकल प्रयोग गरेर हामीले लमहीसम्म ल्याउँछौँ ।’

केही महिना अघिसम्म तरकारी बेच्न किसान पूर्व–पश्चिम राजमार्ग छेउमा बस्ने गर्दथे । त्यहाँ दुर्घटनाको उच्चजोखिम भएको गुनासो बढ्न थालेपछि लमही नगरपालिकाले लमही अस्पताल जाने बाटो छेउमा रहेको कृषिउपज केन्द्रभित्र व्यवस्थापन गरेको थियो तर त्यस ठाउँमा पायक नपर्ने भन्दै उनीहरू बगैँचा आसपास सडक छेउमा बस्ने गरेको लमही नगरपालिकाले जनाएको छ ।

‘किसानको सुरक्षाका लागि र तरकारी बिक्री गर्ने भनेर नगरपालिकाले निश्चित ठाउँको व्यवस्थापन गरेको हो तर उहाँहरू त्यस ठाउँमा जान मान्नु भएन, अहिले त्यहाँ ट्रमा सेन्टर बन्दैछ’, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले भने, ‘केही समय लाग्ला तर तरकारी बजारको स्थान टुङ्गो लगाएर किसानलाई न्याय गर्छौँ ।’

निश्चित ठाउँ नहुँदा आफूहरू सडकमा बसेर तरकारी बेच्न बाध्य भएको किसान बताउँछन् । ‘बिरालोले पाठो सारेझैँ कहिले कता कहिले कता गएर तरकारी बेच्नु परेको छ’, लमही नगरपालिका–४ का किसान सुकदेव चौधरीले भने, ‘सरकारले कृषिमा अनुदान दिएर मात्र के गर्नु, बिक्रीका लागि ठाउँको व्यवस्थापन छैन ।’ बिहानै ४ बजे घरबाट साइकलमा लादेर ल्याइएका तरकारी बेच्दाबेच्दै उज्यालो हुने र तरकारी बेचेर सकिँदा नसकिँदै पसलवाला आएर लखेट्न थाल्ने गरेको उनको भनाइ छ ।

धेरै परिमाणमा तरकारी खेती गरेका र ढुवानीका साधन भएका किसानले टाढा–टाढा गएर बिक्री गर्ने गरे पनि थोरै जग्गामा खेती गरेका कृषकहरूलाई बिक्री गर्न समस्या भएको खुशीराम चौधरीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्