कनिका संवाददाता
असार २२, दैलेख
दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना भाइरस देखिएपछि सेवा प्रवाहमा समस्या भएको छ ।
जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ र उनीहरुको अवस्था सामान्य छ । सङ्क्रमित कर्मचारीहरु घरमा नै आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीहरुको स्वाब संकलन गरेको थियो ।
४८ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार बिसीले सीआईएनलाई जानकारी दिनुभयो । उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामको लागि कार्यालयमा आएका सर्वसाधारणहरुलाई सेवा प्रवाहमा समस्या देखिएको छ ।