अमरराज आचार्य
दाङ, ११ साउन ।
मध्यसाउन आउन थोरै समय छ तर पर्याप्त वर्षाको अभावमा अझैसम्म आधा जमिनमा धान रोपाइँ हुन सकेको छैन । सोमवार र मङ्गलवार वर्षा भए पनि बुधवारदेखि फेरि घाम लागेको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म ५३ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । समयमा वर्षा नहुँदा खेती हुन नसकेको हो । ढिला गरी सुरु भएको वर्षाका कारणले खेतीमा समेत ढिलाइ भएको छ ।
जिल्लामा असारको पहिलो सातादेखि जिल्लामा वर्षा सुरु भए पनि नियमित रूपमा र रोपाइँको लागि पर्याप्त वर्षा हुन सकेको छैन । ढिला वर्षा भएपछि कृषकले समेत ढिला गरेर धानको व्याड राखेका थिए । सिँचाइ सुविधा भएको क्षेत्रमा धान खेती भए पनि अन्य स्थानमा खेती भएको छैन । देउखुरी क्षेत्रमा धान रोपेर पनि गाँज हाल्न थालिसकेको छ । कृषि ज्ञान केन्द्र दाङका अुनसार जिल्लामा हालसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा ३९ हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने १९ हजार हेक्टरमा सहज रूपमा सिँचाइको सुविधा छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् ।
जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका धान रोपाइँ करिब सकिएको छ । मङ्गलवार परेको वर्षाले धेरै स्थानमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । ‘अहिले अधिकांश कृषक धान रोपाइँका लागि खेतमा हुनुहुन्छ’, सूचना अधिकारी लामिछानेले भने, ‘पछिल्लो वर्षाले कृषकलाई राहत दिएको छ । वर्षाले साथ दियो भने साउनको करिब २० गतेसम्म जिल्लामा धान रोपाइँ सकिने अनुमान छ ।’ रोपाइँ गर्नका लागि धानको ब्याड तयार भइसकेको र अब रोपाइँ गर्न मात्र बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समयमा पानी पर्दा जिल्लामा असारको महिनामै करिब रोपाइँ सकिने गरेको थियो । ढिला रोपाइँ भए पनि यसले उत्पादनमा धेरै असर नगर्ने सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछाने बताउँछन् । ‘अहिले धानको ब्याड छिप्पिएको छैन, यसैले खासै असर गर्दैन’, सूचना अधिकारी लामिछानेले भने, ‘भदौमा राम्रोसँग पानी प¥यो उत्पादनमा असर पर्दैन ।’ तर भदौमा पानी नपरेमा उत्पादन घटने उनी बताउँछन् ।
कृषकहरू भने समयमा धान रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने चिन्तामा छन् । समयमा मल नपाउँदा उत्पादन घट्ने हो कि भन्ने चिन्ता पनि उनीहरूमा थपिएको छ । हरेक वर्ष कृषकले मलको लागि समस्या भोग्दै आएका छन् तर समस्याको समाधान भने हुन सकेको छैन । जिल्लामा पछिल्लो समयमा धान खेती हुने खेत समेत प्लटिङ भएर घट्दै गएका छन् । जसले गर्दा उत्पादनमा समेत असर पुग्ने गरेको छ ।
रोपाइँ नसकिँदै धानको मूल्य तोकियो
सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धान र मध्यम धानको समर्थन मूल्य तोकेको हो । सरकारले मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ रूपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ रूपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ रूपैयाँ कायम गरिएको छ ।


