कनिका संवाददाता
असार २२, जनकपुरधाम
धनुषाको जनकपुरधाम उपमहानगरपालिका कुर्थाका ११ वर्षका बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या र बलात्कारमा संलग्न रहेको भन्दै एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह रहेका छन् ।
सिंहले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो । गत शुक्रबार कुर्थाका ११ वर्षका बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि एक किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । उनी भैंसी चराउन गएकी थिइन् । बालिकाको शव फेला परेको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सिंहलाई हिजो पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । सिंहमाथि थप अनुसन्धान भइरहेको छ ।