राजनीति सँगसँगै माहुरीपालन व्यवसाय – Kanika Khabar
Friday, May 17Nepali News Portal

राजनीति सँगसँगै माहुरीपालन व्यवसाय

    मा प्रकाशित

लीलाधर वली

घोराही,१७ साउन ।

राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश बर्षदेखि माहुरीपालन व्यावसाय गर्दै आउनुभएको छ ।

माहुरीपालनमा पनि डाँगीले लोकल स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिक रुपमा पालन गर्दै आउनुभएको छ । उहाँले जंगलमा रुख र भिरहरुमा बस्ने माहुरीलाई घर व्यवस्थित रुपमा घारहरु निर्माण गरेर एक दशकदेखि डाँगीले व्यावसायिक माहुरीपालन गर्दै आउनुभएको छ ।

जंगलबाट खोजेर घरमा ल्याउँदै पाल्ने गर्नुभएका डाँगीले दश बर्षको अवधिमा माहुरीका करिव डेढसय घार बनाउन सफल भए पनि अहिले माहुरीको संख्या घटेको बताउनुभयो । जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घारहरु घट्न पुगेको बताउनुभयो ।

वडा अध्यक्ष समेत रहनुभएका डाँगीले भन्नुभयो, ‘राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो । तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । जस्ले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।’

पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका विरुवाहरु हुने भएकाले चरणको समस्या नहुने भए पनि माहुरीलाई अरिङल र बच्छिउबाट बचाउन समस्या हुनेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढसयसम्म पुगाएको थिएँ । तर राजनीतिमा लागेपछि घारमा समय दिन पाइन । जस्लेगर्दा अहिले माहुरीको घार घटेर ५० देखि ६० घारहरु मात्रै छ ।’ डाँगी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित हुुनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘भौगोलिक विकटताका कारण वडाको ठूलो भूगोल छ । जस्लेगर्दा वडा कार्यालयबाट दैनिक रुपमा घरबाट आउन जान सक्नुपर्ने अवस्था छैन । डेरागरी बस्दा माहुरीलाई नियमित हेरचाह नहुने हुँदा माहुरी घट्न पुगेका छन् ।’

उहाँ नहुँदा घरमा माहुरी श्रीमति गोमा डाँगीले हेर्ने गर्दै आउनुभएको छ । करिव दुईसय माहुरी पुगाउने लक्ष्य रहेको डाँगीले बताउनुभयो । वडा अध्यक्ष नभएर माहुरीपालनमै समय दिन पाएको भए अहिले करिव दुई सय बढी माहुरी भैसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘माहुरीलाई चराउन लग्न नपर्ने र गाई बाख्रालाई जसरी गाँस पराल दिन नपर्ने भएकाले पाल्न सजिलो छ । तर यसलाई मार्ने किराबाट बचाउन ध्यान दिनुपर्छ ।’ डाँगीसँग करिव ५० घार सेरेना जातको माहुरी र करिव दश घार जति पुत्का जातको माहुरी छन् ।

पुत्का माहुरीको सबैभन्दा सानो जातको माहुरी हो । यसको मह प्रतिकिलो १० हजार रुपियाँमा विक्ने गरेको उहाँले बताउनुभयो । पुत्का माहुरीको मह औषधिका रुपमा प्रयोग हुनेगरेकाले महंगो मुल्यमा विक्री हुनेगरेको छ ।

लोकल सेरेना जातको माहुरीको मह समयअनुसार ८ सयदेखि १२ सय रुपियाँसम्म प्रतिकिलो विक्री हुनेगर्दछ । उहाँका अनुसार कार्तिक महिनामा निकालेको मह १२ देखि १३ सय रुपियाँ प्रतिकिलो विक्री हुने गरे पनि चैत, असार महिनातिर निकालेको मह कम मुल्यमा विक्री हुनेगरेको उहाँले बताउनुभयो । माहुरीपालक डाँगीले करिव दुई लाखसम्म बार्षिक रुपमा आम्दानी गर्दैआउनुभएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्