उर्मिला चौधरी
दाङ, १८ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ मझुवा रक्षाचौरका महिला समूहमा आबद्ध भएर बचतसँगै पन्चेबाजा संरक्षणमा जुटेका छन् । गाउँघरमा हुने विवाह, पूजालगायतका शुभ कार्यमा बाजा बजाउने मान्छे नभेटिने भएपछि महिलाहरूले समूह गठन गरेर पन्चेबाजा बजाउन अग्रसर भएका हुन् ।
पाँच वर्षअघि जनचेतना आमा समूह गठन गरेका महिला गत वर्षदेखि गाउँमा हुने विवाह, पूजालगायत चाडपर्व, मेला महोत्सवलगायतका कार्यक्रममा पन्चेबाजा बजाउन जाने गरेको जनचेतना आमा समूहका अध्यक्ष कस्तुरा खड्का बताउँछिन् । घरको काम भ्याएर फुर्सदको समयमा बाजा बजाउन जान थालेपछि आम्दानी समेत हुने गरेको उनी बताउँछिन् ।
‘सुरुमा बचत समूहका रूपमा जनचेतना महिला समूह गठन गरे पनि अन्य काम गर्न सकेका थिएनौँ । समूहमा छलफल गर्दै जाँदा एक दिन गाउँमा विवाह, पूजालगायतका शुभकार्यमा बाजा बजाउने मान्छे नपाइने भएपछि महिला दिदीबहिनी मिलेर बाजा बनाउने सोच बनेको हो’, समूहकी अध्यक्ष समेत रहेकी खड्काले भनिन्, ‘अहिले पन्चेबाजा संरक्षण हुनुका साथै आयआर्जन पनि भइरहेको छ ।’ उनकाअनुसार पञ्चेबाजा अन्तर्गत महिलाले दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बजाउने गरिन्छ ।
कुनै समय दलित समुदायले मात्र बजाउने पन्चेबाजा पछिल्लो समय आपूmहरूले बजाउँदा धेरै मानिसले दलित नै भन्ने गरेको उनी बताउँछिन् । बाजा बजाउन तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्र्कमा आएकी खड्काले भनिन्, ‘पन्चेबाजा समूह बनाएपछि गाउँघरमा मात्रै होइन, अन्य ठाउँमा पनि जाने गरेका छौँ । यसरी टाढा–टाढा बाजा बजाउन जाँदा प्रायः मानिसले दलित समूहकै भनेर सोच्ने गर्नुहुन्छ ।’
धेरै ठाउँमा बाजा बजाउने क्षत्री, ब्राह्मण, जनजातिलगायतका महिला भएको भन्दा अचम्म पर्ने गरेको उनले बताइन् । उनकाअनुसार जिल्लामा पन्चेबाजा धार्मिक एवम् सांस्कृतिक कार्यक्रममा बढी प्रयोग हुने गरेका छन् । आमा समूहमा नियमित बचतसँगै बाजा बजाउन सिकेर आम्दानी गर्न थालेपछि महिला आर्थिक रूपमा सक्षम हुन थालेको समूहकी सदस्य कल्पना वली बताउँछिन् । समूहमा रक्षाचौर मझुवा टोलका ३० जना महिला आबद्ध रहेका छन् । समूहमा आबद्ध महिलाले मासिक नियमित बचतसँगै समूहमार्फत् ऋण लगानी समेत गर्दै आएका छन् । समय मिलाएर बाजा बजाउन बोलाइएको ठाउँमा जाने गरेको उनी बताउँछिन् । वलीले भनिन्, ‘आमा समूहमा गाउँका ३० जना बढी महिला आबद्ध छौँ ।
त्यहीमा करिब ८÷१० जनाले पन्चेबाजा बजाउन सिकेका छाँै, कसैले बोलाउँदा फुर्सदमा भएका महिला समय मिलाएर जाने गरेका छौँ । पन्चेबाजा बजाउन जाँदा अहिलेसम्म घरको काममा समस्या देखिएको छैन ।’ आमा समूहले महिलालाई गाउँमा सामाजिक कार्यमार्फत् गाउँ व्यवस्थित बनाउनुका साथै आम्दानीको बाटो समेत पहिल्याउने काम गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘पहिले त केही काम गर्दैनथ्यौँ, केही गरौँ भनेर समूह बनाए पनि बचत मात्रै गथ्र्यौँ । समूहमा सबैका बिच छलफल गरेपछि पन्चेबाजा सिक्ने र बजाउने सल्लाह भयो । पञ्चे बाजा गाउँका लागि आवश्यक पनि ठान्यौँ र बजाउन थालेका हौँ । अहिले जे ग¥र्यौँ ठिकै गरेका रहेछौँ भन्ने लाग्छ ।’
आपूmहरूले बाजा बजाउन एकजना प्रशिक्षक राखेर सिकेको समूहकी अध्यक्ष खड्का बताउँछिन् । ‘पन्चेबाजा किन्ने कुरा त भयो तर बजाउन आउँदैनथ्यो । त्यसपछि एक जना प्रशिक्षक ल्याएर बाजा बजाउन सिकेका हौँ’, उनले भनिन्, ‘अहिले बजाउँदा–बजाँउदा आफै पनि सिकाउने हुन लागिसकेका छौँ ।’ उनकाअनुसार समूहले गाउँमा पन्चेबाजा बजाउने मात्रै होइन,
गाउँघरमा बजारबाट टेन्ट, पकाउने भाँडालगायतका सामग्री ल्याउनुपर्ने बाध्यता हटाउन सामग्रीको पनि व्यवस्था गरेको छ । यसरी सामग्री प्रयोगदेखि पन्चेबाजा बनाउने काम गर्दा एकैदिनमा ३० देखि ४० हजार रूपैयाँसम्म कमाउने गरेको उनी बताउँछिन् ।
पन्चेबाजा बजाउँदा ठाउँअनुसार फरक–फरक तालमा बजाउनुपर्ने भन्दै वलीले भनिन्, ‘निकै ध्यानपूर्वक बाजा बजाउनु पर्छ । बाउबाजेदेखि चल्दै आएको संस्कार हो ।’ यसरी आपूmजस्तै दिदीबहिनीसँग मिलेर समूहमार्फत् बाजा संरक्षणमा लाग्न पाउँदा खुसी लागेको उनी बताउँछिन् । आगामी दिनमा यसलाई अझ व्यावसायिक बनाउँदै लैजाने र नयाँ पुस्तालाई पनि बाजा बजाउन सिकाउने आमा समूहको योजना भएको अध्यक्ष खड्काले बताइन् ।