सरकारी जागिरबाट अवकाश लिएपछि कागती खेतीबाट आम्दानी गर्दै – Kanika Khabar
Friday, May 17Nepali News Portal

सरकारी जागिरबाट अवकाश लिएपछि कागती खेतीबाट आम्दानी गर्दै

    मा प्रकाशित

लीलाधर वली
घोराही,१९ साउन ।

सरकारी जागिरको अवधि सकिएपछि दाङमा एकजना व्यक्ति व्यावसायीक कागती खेतीमा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार बर्षदेखि व्यावसायीक कागती खेतीमा लाग्नुभएको हो ।

सरकारी जागिरबाट पेन्सनमा निस्किएपछि बचेको समय कृषि पेसामा लाग्नुभएका वलीले करिव ५ कट्ठा जमिनमा कागती गर्दै आउनुभएको छ । व्यावसायीक तरकारी खेतीसँगै कागती खेतीमा लागेका वलीले आम्दानी समेत लिन थालेको बताउँछन् । पहिलो बर्ष करिव २ क्विन्टल कागती विक्री गर्नुभएका वलीले यो बर्ष त्यसको दोव्वर बढी फलेको बताउँँनुहुन्छ ।

गत बर्षभन्दा यसबर्ष कागती राम्रो फलेको र अझै फल्ने क्रम भइरहेकाले आम्दानी बढ्ने उहाँको आशामा हुनुहुन्छ । किसान वलीले भन्नुभयोे,‘पहिलो बर्ष करिव दुई क्विन्टल कागती विक्री गरेको थिए, थोरै भएपनि सुरुकै बर्ष राम्रै आम्दानी भएको थियो । यो बर्ष झन धेरै भएकाले आम्दानी बढी हुने आशा छ ।’ धेरै मेहनत नलाग्ने र विक्रीका लागि पनि समस्या नहुने भएकाले कागती खेती गर्न सुरु गरेको वली बताउँनुहुन्छ ।

कागती खेतीबाट राम्रो आम्दानी हुने देखेपछि बर्सेनि बोटहरु समेत बढाउँदै लग्ने सोचमा रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘चार बर्ष अघि ८० वटा विरुवा रोपेर व्यावसायिक कागती खेती सुरु गरेको थिए,तर पाँच वटा विरुवा सुरुमै मरेपछि ७५ वटा मात्रै विरुवाहरु बचे । अहिले तिनै विरुवाहरु फल्न सुरु गरेका छन् । त्यसमा गतबर्ष फेरी २५ विरुवा थप गरेर सय विरुवा पु¥याएको छु ।’

उहाँले तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले अनुदानमा निशुल्क रुपमा ८० वटा विरुवा उपलव्ध गराएपछि पहिलो बर्ष रोप्नुभएको थियो ।जिल्लामा कागती विक्रीका लागि कुनै समस्या नहरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘पछिल्लो समय कागती माग बढ्दै गएको छ,मागको तुलनामा जिल्लामा उत्पादन नहुँदा बाहिरबाट आउने गरेको छ । कागती विक्रीका लागि समस्या छैन,जति उत्पादन गरेपनि विक्री हुने अवस्था छ ।’

कागती खेतीसँगै व्यवसायी तरकारी खेती समेत गर्दै आउनुभएको छ । २८ बर्ष राष्ट्रिय अनुसन्धान प्रहरीमा जागिरे जीवन बिताउनुभएका ५२ बर्षीय वलीले एक विगाह जमिनमा तरकारी र फलपूmल खेती गनुभएकोे छ । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गर्दै आउनुभएका वलीले व्यवसायीक टमाटर खेतीका लागि १६ वटा टनेलभित्र थोपा सिचाईको समेत व्यवस्था गरे टमाटर खेती गर्दै आएको बताउनुहुन्छ । आफुले मात्रै खेतीमा नभ्याउने भएकाले तरकारी रोप्ने, गोडमेल र टिप्ने समयमा मानिसहरु लगाउने गर्ने गरेको बताउने वलीले भन्नुभयो,‘कागती र तरकारी खेती राम्रो हुँदै गएको छ ।

कामको आवश्यकता अनुसार मान्छेहरु पनि लगाउने गरेको छु ।’ रासायनिक मल प्रयोग नगर्ने र खासगरी बेमौषमी टमाटर उत्पादन गर्ने भएकाले टमाटर विक्रीमा समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार भट्टै पुरै गाउँमा कसैले पनि तरकारी खेतीमा रासायनिक मलको प्रयोग नगर्ने बताउँनु हुन्छ । रासायनिक मलको विकल्पमा किसानले भर्मी कम्पोष्ट मल खेतीमा प्रयोग गर्ने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्