दाङ, २९ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डलमा हेरफेर गरेसँगै जनमत पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । जनमत पाटीृबाट अनिता देवी मन्त्रीमण्डलमा सहभागी हुने भएकी छिन् । अनिता देवीले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।
जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ। गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो।
जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो। सरकार छाडेको चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो।


