वैदेशिक रोजगारीबाट फर्किएकाहरुको उद्धारमा भएको त्रुटिले काठमाडौंमा समुदायस्तरमा कोरोना फैलने खतरा – Kanika Khabar
Friday, March 29Nepali News Portal

वैदेशिक रोजगारीबाट फर्किएकाहरुको उद्धारमा भएको त्रुटिले काठमाडौंमा समुदायस्तरमा कोरोना फैलने खतरा

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, काठमाडौं ।

वैदेशिक रोजगारीमा गएकाहरूको उद्धारमा भएको अन्यौलता र लचकताका कारण काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण स्थानीय स्तरमा पुगेको सरकारले निष्कर्ष निकालेको छ । हालसम्म उद्धार गरी ल्याइएका १७ हजार मध्ये ३५ प्रतिशतले मात्रै सम्बन्धित मुलुकमा पीसीआर जाँच गरी कोरोना नभएको रिपार्ट ल्याएका थिए । आरडीटी रिपोर्ट ल्याएर आउनेको सङ्ख्या पनि ३५ प्रतिशत छ भने बाँकीले आजका मितिसम्म कोरोनाको लक्षण देखिएको छैन भन्ने कागज बनाएर नेपाल आएका थिए । तीनै प्रकारका नेपालीलाई उद्धार गरेर एकै विमानमा ल्याउनुपर्ने अवस्था र उनीहरूको जाँच उपत्यकाका बिभिन्न ल्याबमा गरेका कारण पनि काठमाडौँमा सङ्क्रमितको संख्या धेरै देखिएको हो । यसबाट समुदायमा सङ्क्रमण फैलिने जोखिम बढेको स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले सीआईएनसँग बताउनुभयो । बिदेशमा अलपत्र नेपालीको उद्धार गरी उनीहरूलाई सुरुमा काठमाडौँका बिभिन्न होल्डिङ सेन्टर अर्थात आराम केन्द्रहरूमा राख्ने गरिएको छ । कतार, कुवेत, साउदीअरेबियालगायत खाडी मुलुकबाट आउनेहरूले पीसीआर, आरडीटी जाँचको रिपोर्ट र कोरोनाको लक्षण देखिएको कागजात ल्याउने गरेका छन् । स्थानीय स्तरमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि महाशाखाले टोखा, भक्तपुर, शंखमूल, गंगालाल, स्टार अस्पताल लगायत ५ स्थानबाट नमूना सङ्कलन गरी जाँच गरीरहेको छ । त्यसमध्ये नख्खुटोल र तीनकुने क्षेत्रबाट सङ्कलन गरिएको २ सय २८ नमूनामा कोरोना देखिएको छैन । कपन, हरिसिद्धी, चाँगुनारायणलगायतका ७ क्षेत्रबाट पनि अबको २ दिनभित्रमा नमूना सङ्कलन गरिने महाशाखाले जनाएको छ । समुदायस्तरमा कोरोना फैलनबाट जोगाउनका लागि नागरिक र सरोकारवाला संस्थाको पनि दायित्व भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पाण्डेले बताउनुभयो । डाइलाइसिस गराइरहेका, क्यान्सरका बिरामी, यातायात, मालपोत, बैँक लगायतका क्षेत्रबाट गरी मुलुकभरमा ४५ हजार नमूना सङ्कलन गर्ने तयारी सरकारको छ । जनस्वास्थ्यविज्ञ डा रविन्द्र पाण्डेले भने सरकारले सावधानी नअपनाउँदा काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमण समुदायमा पुग्ने अवस्था आएको बताउनुभयो । डा पाण्डेले काठमाडौँ उपत्यकामा प्रवेशमा अझ कडाइ गर्न सरकारलाई सुझाव दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्