आन्दोलनरत शिक्षक र सरकारबिचको वार्ता निष्कर्षविहीन – Kanika Khabar
Friday, May 17Nepali News Portal

आन्दोलनरत शिक्षक र सरकारबिचको वार्ता निष्कर्षविहीन

    मा प्रकाशित

काठमाडौँ, ४ असोज ।

शिक्षा विधेयक २०८० को विरोध गर्दै आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन बनेको छ ।

आज बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको वार्ता निष्कर्षमा नपुगेपछि भोलि शुक्रबार बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारीका स्थगित गरिएको हो ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए ।

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट रहँदै आएका छ्न। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्