उद्योग उपाध्यक्षका उम्मेदवार गहतराज – Kanika Khabar
Friday, May 3Nepali News Portal

उद्योग उपाध्यक्षका उम्मेदवार गहतराज

    मा प्रकाशित

दाङ, ११ असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि यही असोज १३ गते निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा रामप्रसाद पोख्रेलको नेतृत्वको साझा, समावेशी व्यवसायीक प्यानल घनिभूतरुपमा प्रचारप्रसारमा होमिएको छ ।

यहीक्रममा निर्वाचनमा आफूहरुको पक्षमा माहोल सिर्जना गर्न अग्रसर उमेदवार मध्यका एक हुनुहुन्छ, ध्रुवकुमार गहतराज । पोख्रेल प्यानलमा उद्योग उपाध्यक्ष जस्तो गरिमामय पदमा उमेदवारी दिनुभएका गहतराजलाई यस पटक नेपाल सुनचाँदी व्यवसायी संघ दाङको पनि दरिलो समर्थन छ ।
सुनचाँदी व्यवसायी संघको केन्द्रीय सदस्य समेत रहनु भएका गहतराजलाई संघले सर्वसम्मत निर्णय गरेर उवासंघका उमेदवार बनाएको हो । बजारमा विभिन्न खाले समस्या झेल्नेहरुमा सुनचाँदी व्यवसाय पनि पर्दछ । प्रहरी प्रशासनदेखि अन्य क्षेत्रसम्म यो व्यवसायमा आबद्ध व्यवसायीहरु समस्या लिएर पुगि राख्नुपर्ने र हालसम्म उवासंघमा सुनचाँदी व्यवसायीबाट प्रतिनिधित्व नभएकाले पनि सुनचाँदी व्यवसायी संघ दाङले यस पटक गहतराजलाई उमेदवारमा सिफारिस गरेको हो ।

व्यवसायमा लामो अनुभव संगाल्नु भएका गहतराज पाल्पा भैरव सुनचाँदी गहना उद्योगको सञ्चालक पनि हुनुहुन्छ । सानो पूजीबाट पसल सञ्चालन गरेर हाल उद्योगकै रुपमा घोराहीमा दुईवटा पसल राम्रो तरिकाले सञ्चालन गर्न सफल गहतराज अन्य विभिन्न क्षेत्रमा पनि जोडिनु भएको छ । प्रेम गहतराज अनि सुन्तली गहतराजको जेठो छोराकारुपमा जन्मनु भएका ध्रुवकुमार गहतराजका तीन भाइ हुनुहुन्छ । श्रीमती विष्णु गहतराजसँग वैवाहिक सम्बन्ध गाँसिएपछि दुई छोरा र एक छोरीका बुबा बन्नु भएका ध्रुवको व्यवसायमा त्यतिबेला झनै बृद्धि भयो जतिबेला उहाँका दुबै छोराहरुले कारोबारलाई बृद्धि गर्न भूमिका खेले । हाल उहाँको नेतृत्वमा दुबैजना छोराले घोराहीमा व्यवस्थित तरिकाले उहाँले सुरु गरेको व्यवसायलाई अगाडी बढाएका छन् । व्यवसायसँग काम गर्नेक्रममा सुनचाँदी व्यवसायी संघ दाङको अध्यक्षकारुपमा उहाँले यो व्यवसायमा आबद्ध व्यवसायीहरुलाई गोलबद्ध गर्न सफल हुनुभयो । हाल उहाँ संघको केद्रीय सदस्य हुनुहन्छ । यस बाहेक उहाँ शिक्षा क्षेत्रमा पनि जोडिनु भएको छ । घोराहीस्थित लालीगुँरास वोर्डिङ स्कुलको फाउण्डर र पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नु भएका ध्रुवले लालीगुँरास बोर्डिङ स्कूललाई भौतिक रुपमा बलियो बनाउने देखि विद्यालयको शैक्षिक गुणस्तर बढाउने सवालमा पनि ठोस योजना बनाएर काम गर्नु भएको थियो । गौरी शंकर वचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष पदमा रहेर काम गर्नु भएका ध्रुव हाल उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदको उमेदवार बनेर मतदाताको घरदैलोमा पुगि रहनु भएको छ । बजारमा देखा परेको आर्थिक मन्दिलाई कम गर्न व्यवसायीहरुको हौसला बढाउने देखि लगानी मैत्री वातावरण निर्माण, औद्योगिक नगरी निर्माण गर्नेसम्मका योजनाहरुका साथ निर्वाचनमा होमिनु भएका ध्रुवकुमार गहतराज सबै दृष्टिकोणले आफ्नो पदलाई सजिलै वहन गर्न सक्ने किसिमको उमेदवार हुनुहुन्छ । मेहनत, परिश्रम र लगनशिलताले यहाँसम्म आइपुग्नु भएका गहतराजले व्यवसायीहरु माझ बिशिष्ठ पहिचान बनाउन सफल हुनुभएको छ ।

‘म उवासंघमा बसेर केही नमूना योग्य काम गर्ने उद्देश्यले अघि बढेको छु, सबैको साथसहयोगले निर्वाचन मार्फत संघमा मेरो प्रवेश हुनेछ’, उहाँले थप्नुभयो,‘संघले थालनि गरेको औद्योगिक क्षेत्र निर्माण कार्यलाई पूर्णता दिन अहोरात्र खटिनेछु, जिल्लामा लगानी मैत्री वातावरण निर्माण गर्न मेरो पहल कदमि हुनेछ । पछिल्लो समय देखा परेको आर्थिक मन्दि अनि निराश बजारलाई माथि उठाउन संस्थागतरुपमा देखिने गरी काम गर्नेछु ।’

उद्योग कलकारखानाको विकास, साना तथा मझौला उद्योगहरु स्थापना, कृषिमा आधारित उद्योग स्थापनामा ध्यान दिनुपर्ने र उत्पादित सामानको बजारीकरणका लागि प्रभावकारी कदमहरु चाल्नुपर्ने उहाँको धारणा छ । साना व्यवसायहरु पनि विभिन्न किसिमका समस्यामा पर्ने गरेको र व्यवसायीका सबै समस्याहरुलाई समाधान गर्नका लागि उवासंघले प्रभावकारी भूमिका खेल्नुपर्ने गहतराजको भनाइँ छ । कर, नापतौल जस्ता उद्योगी, व्यवसायीहरुसँग प्रत्यक्ष जोडिएका विषयहरुमा अहिले पनि व्यवसायीहरुले ठूलो समस्या र झमेला व्यहोर्नु परिरहेकाले आफू निर्वाचित भएपछि यी र यावत विषयमा पनि संघको तर्फबाट सहजीकरणको भूमिका खेल्ने उहाँको भनाइ छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको समग्र हितका लागि प्रादेशिक राजधानी निर्माण अभियान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनादेखि सञ्चालन अभियान, विभिन्न सडकहरु निर्माण, सभाहल निर्माण, शहिद गेट निर्माणलगायतका महत्वपूर्ण कार्यहरुको अगुवाई गरेका कारण हाल जिल्लामा दाङ जिल्ला उद्योग वाणिज्य संघलाई अगुवा संस्थाकारुपमा लिने गरिएको बताउँदै उद्योग उपाध्यक्षका उमेदवार गहतराजले संस्थाले कमाएको साखलाई बढाउनका लागि आफ्नो तर्फबाट हर सम्भव कोसिस गर्ने मनसाय राख्नुभएको छ । पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरु, अग्रजहरु अनि सबै उद्योगी व्यवसायीहरुको सकारात्मक भूमिकाले संघ गरिमामय संस्थाकारुपमा स्थापित भएको बताउने गहतराज आफू पदमा निर्वाचित भएपछि सबैको साथसहयोग अनि सल्लाहसुझाब लिएर आफ्नो पदीय जिम्मेवारी बहन गर्ने सोँचमा हुनुहुन्छ ।

२०८० असोज १३ गते हुन लागि रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको तयारी स्वरुप मतदाताको घरदैलोमा मत माग्दै हिँड्नु भएका गहतराज सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ । निवार्चनको प्रचारप्रसार कार्य नै घोराहीको झिँगौरास्थित् अपांग संघमा त्यहाँ बस्ने बालबालिकालाई खाद्यान्न सहयोग गरेर सुरु गर्नु भएका गहतराजले अन्य दिनहरुमा पनि दिनदुःखीहरुलाई धेरै पटक सहयोग गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्