कनिका संवाददाता
असार २५, काठमाडौं
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको जानकारी गराउनुभएको हो । नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको उहाँले बताउनुभयो । भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन । यद्यपि नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् । यसअघि नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा नेपाली भूभाग परेको भन्दै नेपालले विरोध गरेको थियो ।