आज विजया दशमी, टीकाको उत्तम साइत ११ः०२ बजे – Kanika Khabar
Monday, February 16Nepali News Portal

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः०२ बजे

    मा प्रकाशित

दाङ, ७ कार्तिक ।
आज बडादसैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिएर मनाइदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ०२ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । तर त्यसअघि बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

महत्त्व

असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइन्छ।

शक्तिवादका अनुयायीहरूका लागि, यो देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ। हिन्दु धर्मशास्त्रमा महिषासुर दानवले देवलोक (देवताहरू बस्ने संसार)मा आतङ्क मच्चाएका थिए तर दुर्गाले राक्षसहरूलाई मारेकी थिइन्।[९][१०][११] दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धको प्रतीक हो। दसौं दिन त्यो दिन हो जब दुर्गाले अन्ततः उनलाई पराजित गरेकी थिइन्। अन्य हिन्दुहरूका लागि यो चाड रावणमाथि रामको विजयको प्रतीक हो जुन रामायणमा वर्णन गरिएको छ।

महत्त्वपूर्ण दिनहरू

घटस्थापना

विजयादशमीको पहिलो दिन घटस्थापना हो। यसै दिनदेखि नौरथा आरम्भ हुन्छ। क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ। यसै दिन जमरा राखिन्छ। यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ। यस दिन नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ।

महासप्तमी

नौरथाको सातौँ दिनलाई फूलपाती अथवा महासप्तमी भनिन्छ। नौरथाको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ। वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् भन्ने विश्वास गरिन्छ।

महाष्टमी

नौरथाको आठौँ दिनलाई महाअष्टमी भनिन्छ। यस दिनमा महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौँ योनी-शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दसैँघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।

महानवमी

नौरथाको नवौँ दिनलाई महानवमी भनिन्छ। यस दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।

विजयादशमी

नौरथाको दसौँ दिनलाई विजयादशमी पनि भनिन्छ। यस सम्बन्धमा श्रीमद्देवीभागवत नौरथा प्रकरणमा नौरथा पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ। यस दिनमा देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।

टीका लाउँदा दिने आशिष (पुरुष):-
आशिष अनुवाद

आयू द्रोणसुते श्रीयो दसरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु,
दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्,
भगवान् रामको जस्तो शत्रु नाश हुन्,
नहुष राजाको जस्तो ऐश्वर्य,
पवनसुत हनुमानको जस्तो गतिशीलता,
दुर्योधनको जस्तो मान,
सूर्यपुत्र कर्णको जस्तो दानवीरता,
हलधर बलरामको जस्तो बल,
कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता,
विदुरको जस्तो ज्ञान र
भगवान् नारायणको जस्तो कीर्ति तिमीलाई प्राप्त होस्

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दसरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ। मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ। मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ। रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो। टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ भन्ने विश्वास रहेको छ।

टीका लाउँदा दिने आशिष (महिला):-
आशिष अनुवाद

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते।
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते॥

ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा, क्षमा, शिव, धात्री, स्वाहा, स्वाधा, म तिमीलाई नमन गर्दछु।
हे देवी चामुण्डा तिम्रो जय होस्, तिम्रो जय होस्, प्राणीको दुःख नाश गर्ने होस् ।
जय सर्वगते देवी कालरात्रिमा म तिमीलाई नमन गर्दछु।

आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दसैँ चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

‘आवाहनं नजानामि नजानामि विर्जसनम्।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।

कोजाग्रत पूर्णिमा

पूर्णिमाको दिन मनाइने यस पर्वको अन्तिम दिनलाई ‘कोजाग्रत’ पूर्णिमा भनिन्छ। कोजाग्रतको शाब्दिक अर्थ ‘ जागृत’ भन्ने हो। यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। देवी लक्ष्मी पृथ्वीमा अवतरित हुन्छिन् र धन र समृद्धिको साथ रातभर जाग्राम रहने जो कोहीलाई वर्षा गराउँछिन् भन्ने विश्वास गरिन्छ। मानिसहरू तास, लङ्गुर बुर्जा, कौडा लगायतका खेलहरू पनि खेल्ने गर्छन् तथापि, यस्ता खेलहरू नेपालमा प्रतिबन्धित छन्।

विकिपिडियाको सहयोगमा

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्