ज्ञानसिन्धु कलेजले ल्यायो जिल्लामै उत्कृष्ट नतिजा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

ज्ञानसिन्धु कलेजले ल्यायो जिल्लामै उत्कृष्ट नतिजा

    मा प्रकाशित

घोराही, २६ कार्तिक ।

दाङको घोराही १० नारायणपुरमा रहेको ज्ञानसिन्धु कलेजले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । त्रिभुवन विश्व विद्यालयले बिबिएस चौथो वर्षको हालै सार्वजनिक गरेको नतिजामा कलेजले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै कलेजले शनिबार एक कार्यक्रम गरी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । कलेजका अनुसार, ज्ञानसिन्धु कलेजले बिबिएस चौथो वर्षमा ९३ दशमलव ३३ प्रतिशत अर्थात १५ जनामा १४ जना विद्यार्थी पास गराउन सफल भएको छ ।

कलेज संचालक समिति अध्यक्ष युवराज रावतको अध्यक्षतामा भएको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा क्याम्पस प्रमुख भुपबहादुर रावतले विद्यार्थी, अभिभावक र प्राध्यापकहरुको निरन्तरको प्रयासमा कलेजले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

घोराही तुलसीपुरको बीचमा रहेको कलेजलाई विश्वास गरेका अभिभावक र विद्यार्थीहरु आफुहरुले भरोसा टुट्न नदिएको बताउँदै सिमित श्रोत साधनका बीच पनि सबैको सत्प्रयासले जिल्लामै ऐतिहासिक नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संस्था ठूलो र सानोभन्दा पनि त्यसले प्रवाह गर्ने गुणस्तर नै प्रमुख मापनको आधार हो, हामीले गरेको प्रयासको मापन विद्यार्थीले ल्याएको नतिजाले दिएको छ । ज्ञानसिन्धु कलेजले ल्याएको नतिजा जिल्लामै उत्कृष्ट हुनु भनेको यो हाम्रो मात्रै होईन यो क्षेत्रकै गौरवको विषय हो । यो गौरवलाई हामीले सबै सामु बाँड्न चाहेका छौँ ।’

राष्ट्रको लागि जिम्मेवार नागरिक उत्पादन गर्ने थलोका रुपमा रहेको शिक्षण संस्थाहरु विद्यार्थी र अभिभावकको विश्वासको केन्द्र बन्नुपर्छ भन्ने मुलभूत लक्ष्यका साथ गरिएको प्रयासले सार्थकता पाएको भन्दै सरोकार सबै प्रति आभार प्रकट गर्नुभयो ।

यसैगरी उहाँले आगामी दिनमा कलेजमा अध्ययनरत विद्यार्थीहरुको लागि सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्न ईन्टर्नसीपको व्यवस्थासमेत गर्ने, विभिन्न वित्तीय तथा आर्थिक क्षेत्रका विज्ञहरुसँगको अनुभव सेयरिङ गर्ने कार्यक्रम रहने जानकारी दिनुभयो ।

सो अवसरमा, विद्यार्थीहरुका तर्फबाट निधि शर्माले कलेजको जीवनलाई भविष्यको आधार बनाएर अघि बढ्न पाएको ज्ञान र हौसला मार्गदर्शक रहेको बताउनुभयो ।

‘हामीले सोँचेको भन्दा धेरै मेहनत गरेर यो सफलता दिलाउन योगदान गरेकै कारण सफल हुन सक्योँ, यो हामी सबैका लागि एक महत्वपूर्ण क्षण बनेको छ । यो प्रयास हामीलाई बारम्बार सकारात्मक उर्जा दिने, शैक्षिक वातावरण निर्माण गरी पढ्न हौसला दिनुहुने सबै प्रति आभारी छौँ’, उहाँले भन्नुभयो ।

क्याम्पस संचालक समिति अध्यक्ष रावतले सर्टिफिकेटसहितको जीवन सिकाउने शिक्षालाई कलेजले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । अहिलेको परिवेशमा देशमा युवा शक्तिलाई टिकाई राख्न, यही माटोमा काम गरेर देखाउन सक्ने सक्षम युवा उत्पादनमा कलेज लागि परेको उहाँको भनाई थियो । बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको सहजीकरण मनोज बस्नेतले गर्नुभएको थियो ।

घोराहीमा रहेको कलेज नयाँ व्यवस्थापनका साथ २०७१ सालमा नारायणपुरको झारबैरामा स्थानान्तरण भएको थियो । हाल ३ ब्याचका विद्यार्थी पास आउट हुँदा ४२ जना विद्यार्थीले बिबिएस तह उत्तीर्ण गरिसकेका छन् । हाल १ सय २५ जना बढी विद्यार्थी अध्ययनरत कलेजमा १३ जना प्राध्यापक र कर्मचारी रहनुभएको छ । जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरेको ज्ञानसिन्धु कलेजले पूर्ण शैक्षिक वातावरणमा पठनपाठनलाई थप परिस्कृत गर्दै लैजाने लक्ष्यसमेत लिएको क्याम्पस प्रमुख रावतले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्