कनिका संवाददाता
असार २६, पर्वत
वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीमा मृत्यु हुनेहरूको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा एउटै घरमा रहेका ५ जनाको मृत्यु भएको छ । स्थानीय टंकबहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ५० वर्षीय टंकबहादुर थापा, उहाँका ४५ बर्षिय श्रीमती सोममाया थापा, ११ वर्षीया नातिनी ईशीका थापा, नाति ६ वर्षीय सुवान थापा र ८ वर्षीय शीतल श्रेष्ठ रहेका छन् । ६ जना घाईते भएका छन् । घाइतेहरू केहीलाई मणिपाल शिक्षण अस्पतालमा र केहीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएको छ । यस्तै, कास्कीकै पोखरा महानगरपालिका २५ हेम्जामा गएको पहिरोमा परी एक ७० वर्षीया महिलाको मृत्यु भएको छ । स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उहाँकी आमा ७० वर्षिय हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको पनि कास्की प्रहरीका प्रवक्ता हमालले बताउनुभयो । पोखरा महानगरपालिका २६ स्थित पैतेडाँडामा आएको पहिरोमा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको हो । सुनारको ब्लकले बनाएको २ कोठे घरलाई पहिरोले पुरेको छ । पोखरा उपमहानगरपालिका १८ छोरेपाटनको सिमलटुँडामा ३ जना घाइते भएका छन् । उनीहरूको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको हमालले जानकारी दिनुभयो ।
मा प्रकाशित