कनिका संवाददाता
असार २६, म्याग्दीमा
म्याग्दीमा पहिरोमा वेपत्ता भएकाको खोजीका लागि सेनाको एउटा हेलिकोप्टर आईपुगेको छ ।
पहिरोमा हराईरहेका ३२ जनाको उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी पुग्न नसकेपछि जिल्ला प्रसासन कार्यालय म्याग्दीले गृह मन्त्रालय बाट हेलिकोप्टर मगाएको थियो । उद्धारका लागि ३ वटा हेलिकोप्टर माग गरेकोमा एउटा हेलिकोप्टर आईपुगेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । विहान १० बजे हेलिकोप्टर माग गरेपनि दिउँसो ३ बजे मात्रै एउटा हेलिकोप्टर आएको हो । म्याग्दीखोलाको बेलिव्रिज भत्किएको र दुखुखोला बढेकाले जिल्लाबाट सुरक्षाकर्मी मालिका र धौलागिरी गाउँपालिकामा पुग्न सकेको छैन ।
पहिरोमा पुरिएकाहरुको उद्धारका लागि सेनाको टोली आएपछि बिहान देखि बेपत्ता भएकाहरुको खोजी शुरु भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । पहिरो र वर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा ३२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिकाको मराङमा १० जना पहिरोमा पुरिएको र १२ जना सम्पर्क विहिन भएको र ताकममा २ जना वेपत्ता भएका छन् । मालिका गाउँपालिका–७ बिममा ८ जना वेपत्ता भएको ढकालले बताउनुभयो । एक जना मालिका गाउँपालिककी महिलालाई दुखुखोला तर्ने क्रममा खोलाले बगाएको छ ।