बालीघरे प्रथा धानेका सुकलाल – Kanika Khabar
Monday, February 16Nepali News Portal

बालीघरे प्रथा धानेका सुकलाल

    मा प्रकाशित

शिवराज खनाल
देउखुरी, ८ मंसिर ।

बालीघरे प्रथा आरन पेसामा आबद्ध भएका बिरलै भेटिन्छन् । कुनै समुदायको पुरानो परम्परागत यो पेसा त्यो समुदायको पहिचान समेत बनेको थियो तर यो पेसाप्रति पछिल्लो पुस्ता आकर्षित भएन । रोजगार वा देशविदेशको मोहले छोएको युवा पंक्ति उतै सोझियो र पुख्र्यौली पेसा ओझेलमा पर्दै गयो ।

पछिल्लो समय यो पेसा लोप हुने अवस्थामै पुगेको छ । आरन पेसामा दुःख बढी तर आम्दानी कम देख्ने युवा पंक्ति पेसामाथि निर्भर हुनै चाहेन । फलतः आफ्नो पुख्र्यौली पेसाबाट दलित समुदाय अलग बन्दै गइरहेको छ । बिरलै यो पेसामा आबद्ध भएका देखिनेमध्यका एक हुन्, राजपुर गाउँपालिका–२ बेला निवासी ६० वर्षीय सुकलाल विश्वकर्मा ।

आफ्नो पुख्र्यौली पेसाप्रतिको प्रेम र घरबार धान्न यो पेसाबाट उनी अलग हुन सकेनन् । फलतः यसै पेसाबाट उनले आफ्नो गर्जो टारिरहेका छन् । ५ दशकदेखि आरने बनेर समाजमा सेवा गरिरहेका विश्वकर्माका लागि यो पेसा आयस्रोतको बलियो आधार पनि बनिदिएको छ । विश्वकर्मा भन्छन्, ‘पछिल्लोे समय मासिक ६० हजार रुपैयाँ कमाइ भइरहेको छ ।’

विश्वकर्माले पहिला घरघर पुगेर भाँडा पिट्थे । यसो गरेवापतको ज्याला उनले अन्नपात पाउँथे । यसरी घरघर जाँदा उनको आम्दानी कम हुन्थ्यो । पछि घरमै बसेर आरन व्यवसाय चलाउने निर्णय लिए । अहिले मनग्य आर्थिक लाभ मिलेको उनको अनुभव छ । ‘पहिले घरघरमा गएर भाँडा पिट्ने काम गर्दा उठेको अन्नबालीले घरपरिवार चलाउन धौ–धौ हुन्थ्यो’, उनले भने, ‘अहिले घरमै बसेर भाँडा बनाउने तथा पिट्ने काम गर्दै आएको छु, घरमै काम गर्दा पैसा पनि राम्रै बचत हुन्छ ।’ सुकलालले खुकुरी, हँसिया, कुटो, कोदालो, फरुवा, बञ्चरो, दावा, खुर्पालगायतका घरायसी कृषि औजार बनाउनुका साथै पुराना भाँडालाई पिटेर धार लगाउने काम गर्दै आएका छन् ।

त्यसोत सुकलाल छिमेकीका लागि मात्र हतियार बनाउँदैनन्, पिट्दैनन् । उनले आफ्नै ‘ब्राण्ड’ समेत कायम गरेका छन् । उनले ‘बेला’ नामक खुकुरीको आफ्नै ब्रान्ड स्थापित गरेका छन् । यो खुकुरी दाङका विभिन्न बजारसँगै सल्यान, रोल्पा र प्युठान जिल्लाका प्रमुख सहरमा जाने गरेको उनी बताउँछन् ।

आगोको ताप र रापले गर्दा आरन पेसामा दुःख बढी हुने भए पनि पुख्र्यौली पेसाको संरक्षणसँगै राम्रो आम्दानी हुने भएपछि निरन्तर काम गर्दै आएको उनी बताउँछन् । ‘पहिले सामान्य रूपमा घरपरिवार पाल्न मात्र आरन पेसा गरियो’, उनले भने, ‘अहिले त स्थानीय तहले पनि सहयोग गरेका छन् । घरमै बसेर काम गर्दा आम्दानी राम्रै हुन्छ ।’

सुकलाललाई आरनका लागि राजपुर गाउँपालिकाले आधुनिक उपकरण सहयोग गरेको छ । गाउँपालिकाले मेसिन सहयोग गरेपछि काम गर्न सजिलो भएको उनी बताउँछन । ‘पहिले त निकै गाह्रो हुन्थ्यो, कोइला फुक्नु पथ्र्यो’, उनले भने, ‘अहिले गाउँपालिकाबाट बिजुलीबाट चल्ने मेसिन पाएको छु, दुःख कम छ ।’ सुकलाल आफूले बनाएको एउटा खुकुरी पाँच हजारदेखि २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताउँछन् । यसैगरी अन्य सामग्री पनि एक सयदेखि एक हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताउँछन् ।

बढ्दो उमेरसँगै कोइलाका लागि जङ्गल जानु पर्ने बाध्यता र वनमा रुख काट्न नपाइने भएकाले काम गर्न भने केही समस्या भएको उनी बताउँछन् । ‘आरन पेसा गर्नेले छोड्दै जाँदा एक्लै भएकाले पनि आम्दानी चाहिँ बढेको छ’, उनले भने, ‘तर काम गर्न धेरै दुःख छ । जङ्गलमा गएर रुख काटी जलाएर कोइला बनाउनु पर्छ तर सामुदायिक वनका मान्छेले काठ काट्न नदिँदा अहिले कोइला पाउनै समस्या छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्