कनिका संवाददाता
असार २७, काठमाडौं
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेताहरूमा संयमता आवश्यक रहेको बताउनुभएको छ । यो विवाद आन्तरिक मामिला भएको र यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरुको भएको उहाँको टिप्पणी छ । बाढी, पहिरो र डुबानका कारण सिङ्गो मुलुक प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षामा जुट्न सबैलाई आहृवान गर्नुभएको छ । हिजो साँझ एक भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले बाढी तथा पहिरोका कारण ३१ जनाले ज्यान गुमाउनुका साथै ३४ जना वेपत्ता भएको जानकारी दिनुभयो । वेपत्ताको उद्दार तथा राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले यसमा जुट्न सबैलाई अपील गर्नुभएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना माहामारीको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यदि समुदायमा सङ्क्रमण फैलियो भने अवस्था भयावह हुने भएकाले सामाजिक दुरी अपनाउन, मास्क र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिन नागरिकलाई अनुरोध गर्नुभयो । प्राकृतिक विपद्का यी सबै आयमहरूको सामना गर्दै सरकार राष्ट्रियता र सार्वभौसत्ताको सुरक्षाका लागि पनि दृढ भएर लागेको प्रधानमन्त्री ओली आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।
मा प्रकाशित