काठमाडौँ, २० मङ्सिर ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको सेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न निर्देशन दिएको छ । समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिंदै ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ ।
मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्नुपूर्व आधिकारिक रुपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नगराएको देखिएको समितिले उल्लेख गरेको छ। समितिले यो कारोबार अविश्वसनीय रहेको समेत ठहर गरेको छ।




