विभिन्न जातीहरुको इतिहास बोकेको रिहार धाममा, चहलपहल सुरु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

विभिन्न जातीहरुको इतिहास बोकेको रिहार धाममा, चहलपहल सुरु

    मा प्रकाशित

टेकबहादुर पुन

दाङ, २७ पौष ।
दाङको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र मध्य एक हो रिहार बगारबाबा धाम । लमही नगरपालिका वडा नम्बर ९ रिहारमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा ठूलो मेला लाग्ने गर्छ । मेलाको पूर्वसन्ध्यामा चहलपहल सुरु भईसकेको छ । व्यापारका लागि स्टल राख्ने र भक्तालुजनहरु आउने जाने प्रक्रिया १५ दिन अघिदेखि सुरु भईसकेको छ ।

खासगरी भारतीय तीर्थयात्रीहरुको यहाँ घुईचो लाग्ने गर्दछ । यस वर्ष पनि भारतीय तीर्थयात्रीको संख्या बढ्न सक्ने बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीले बताए । उनका अनुसार यसवर्ष आन्तरिक तथा बाह्य गरी तीनदेखि साढे तीनलाखसम्म पर्यटकलाई अवलोकन गराउने समितिको लक्ष्य छ । यसक्षेत्रमा रहेका मामी सौरी मन्दिर, बगारबाबा, गणेश मन्दिर, काली, शिवको मन्दिर, झाँक्री थान, बराह, सुर्यकोण, कोटीहोम लगायतका क्षेत्रहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । यसमध्ये तप्तकुण्डमा स्नान र भौरी ढुङ्गा बोकेर मन्दिर परिक्रमा गर्नेहरुको भिड देखिन्छ । तप्तकुण्डमा स्नान गरेपछि जीवनभरिको पाप पखालिने विश्वाससँगै चर्मरोगहरु निको हुने जनविश्वास छ । को बलियो भन्ने मान्यताका साथ भौरी ढुङ्गा बोक्नेको लहर पनि त्यतिकै हुन्छ ।

बगार बाबा र बराह मन्दिरमा भेडाको बलि दिने चलन छ । भाकल अनुसार भेडाको बलि चढाए मनोआकाङ्क्षा पूरा हुने बिश्वास गरिन्छ । यहाँ अवस्थित धार्मिक क्षेत्रहरुको आआफ्नै इतिहास छन । द्वापर युुगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ । यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगार बाबालाई दुध चढाउने गरेको धार्मिक विश्वास छ ।

राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा छ । यहाँका मन्दिरमा पूजा अराधना गरेपछि बगारबाबा खुसी हुने र सन्तान, धन सम्पत्ति लाभ हुुने विश्वास छ ।

No description available.

रिहारलाई खासगरी यदुवंशी अर्थात यादवहरुले  आफ्नो पुर्खाको  उदगमस्थल मान्दै आएका छन् । यदुवंशीहरुले यस क्षेत्रलाई आफ्नो सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । क्षेत्रमा थारु जातीहरुको पनि संस्कृति जोडिएको छ । थारु जातीहरुले परापूर्वकालदेखि यस क्षेत्रमा गोठ बनाएर गाई चराउने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् ।
आध्यात्मिक र तान्त्रिक गरी दुवै थरीका पूजा गरिने भएकाले पनि रिहार सबै तीर्थालुको आस्थाको गन्तव्य बनेको छ । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको  बिचमा घोडीको  विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको  किम्वदन्ती छ ।

नेपाल सरकारको एक सय पर्यटकीय क्षेत्र मध्यमा पर्ने धार्मिक क्षेत्र रिहारमा पौष २८ देखि माघको ३ गतेसम्म मेलाको आयोजनाको तयारी गरिएको समितिका अध्यक्ष खत्रीले बताए । मेलामा ५५ वटा स्टल रहनुका साथै मोटर बोट, चर्पे पिङ, झुला लगायतले थप आकर्षण बढाउने विश्वास गरिएको छ । समितिले गतवर्षदेखि मेला आफै लगाउँदै आएको छ । यो भन्दा अघि टेन्डर प्रक्रियामा मेला लाग्ने गर्दथ्यो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्