स्वास्थ्यमा अनुदार घोराही उपमहानगर, सिटामोल पाउन नागरिकलाई समस्या – Kanika Khabar
Monday, May 20Nepali News Portal

स्वास्थ्यमा अनुदार घोराही उपमहानगर, सिटामोल पाउन नागरिकलाई समस्या

    मा प्रकाशित

दाङ, १० माघ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको स्वास्थ्यचौकीमा सिटामोल खोज्न जाने वडाबासीले यो औषधी पाउँदैनन् भने जीवनजलको अभाव पनि उस्तै । जब कि सरकारले निःशुल्क घोषणा गरेका यी औषधी नागरिकले निःशुल्क र सहजै पाउनु पर्ने हो तर वडाको स्वास्थ्यचौकीमा सिटामोल अभाव हुँदा स्वास्थ्यचौकीले बाहिरै खरिद गर्न नागरिकलाई सल्लाह दिन्छ ।

‘गत मंसिरसम्म यी औषधी थिए तर अहिले सकियो’, स्वास्थ्यचौकी प्रमुख डिल्ली आचार्यले भने, ‘औषधी नहुँदा सेवाग्राहीलाई बाहिरै किन्न सुझाव दिने गरेका छौँ ।’ निःशुल्क औषधी नपाउनुुको दोष स्वास्थ्यचौकी तथा वडा कार्यालयमाथि स्थानीयले थोपर्छन् । ‘सरकारले निःशुल्क भनेको औषधी पनि नदिने भनेर सेवाग्राहीले हामीसँग गुनासो गर्नु पर्छ’, उनले भने, ‘स्वाभाविकै रूपमा सरकारले निःशुल्क घोषणा गरेका औषधी नागरिकले सहजै पाउनु पर्ने हो ।’ तर स्थानीय नागरिकलाई औषधी खरिद गरेर उपलब्ध गराउने जिम्मेवार निकाय भने वडा होइनन्, यो दोष घोराही उपमहानगरपालिकाको हो ।

उपमहानगरले नै औषधी खरिद गरेर वडाहरूलाई पठाउनु पर्ने हो तर उपमहानगर आम नागरिकको स्वास्थ्यका सवालमा गैरजिम्मेवार देखिएको छ । उसको यही गैरजिम्मेवारीपनका कारण आम नागरिकले सामान्य सिटामोलसम्म खान पाएका छैनन् । ‘उपमहानगरले औषधी उपलब्ध गराउँदैन, जेनतेन वडाको बजेटबाट औषधी खरिद गरेर उपलब्ध गराउँछौँ’, वडा नम्बर १० का वडाध्यक्ष दीपक पाण्डेले भने, ‘तर पर्याप्त औषधी हुँदैन, यसले औषधीको अभाव सिर्जना हुन्छ ।’

यो उपमहानगरको विकट वडा मानिने वडा नं. १९ को कार्यालयले उपमहानगरबाट औषधी नपाएपछि आफ्नो स्रोतबाट औषधी किनेर स्थानीयलाई खुवाउँदै आएको छ । यो वडाका वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाले छुट्याएको बजेटबाट खरिद गरेर स्थानीयलाई औषधी खुवाइरहेको बताए । सङ्घीय सरकारबाट लाखौँ बजेट आए तापनि यो उपमहानगरले औषधी खरिद गरेर बिक्री गर्न कन्जुस्याइँ गर्छ तर वडाहरूलाई बजेट अभाव रहने भन्दै औषधी खरिदका लागि बजेट विनियोजन गर्न सुझाव दिन्छ । ‘कार्यपालिका बैठकमा पनि औषधी खरिदका लागि पर्याप्त बजेट छैन, वडाले म्यानेज गर्नु पर्ला भन्ने कुरा उपमहानगरबाट आउँछ’, १९ नं. वडाका वडाध्यक्ष रायमाझीले भने, ‘सोही अनुसार बजेट म्यानेज गरेर औषधी खरिद गर्छौँ ।’

उपमहानगरको वडा नम्बर ४ मा पनि उपमहानगरले औषधी व्यवस्थापन नगरिदिएको लामो समय भयो । वडाबासीलाई भनेकै समयमा वडाले पनि निःशुल्क औषधी उपलब्ध गराउन हम्मेहम्मे भइरहेको छ । उपमहानगरले औषधी व्यवस्थापन गर्न नसक्दा वडाले नै औषधी व्यवस्थापन गर्ने योजना मुताविक एक लाख रुपैयाँ बजेट विनियोजन ग¥यो । उपमहानगरले औषधी उपलब्ध गराएकै छैन । फलतः वडा आफैले औषधी खरिद गरेर स्थानीयलाई उपलब्ध गराउने प्रयास गरिरहेकै छ ।

‘हामीले औषधी खरिदका लागि एक लाख रुपैयाँ विनियोजन गरेका छौँ, औषधी खरिद गरेर स्थानीयलाई उपलब्ध गराउँदै आएका छौँ’, यो वडाका वडाध्यक्ष मुनाल घिमिरेले भने, ‘उपमहानगरले औषधी उपलब्ध गराएको छैन, सरकारले निःशुल्क घोषणा गरेको औषधी आम नागरिकले पर्याप्त रूपमा नपाएको अवस्था सत्य हो ।’ उनका अनुसार स्थानीयले खोजे जति औषधीको परिमाण उपलब्ध गराउन असहज हुने गरेको छ । ‘औषधीको पर्याप्तता हुँदैन अनि एक पत्ता सिटामोल खोज्न आउनेलाई आधा पत्ता दिएर पठाउँछौँ’, वडाध्यक्ष घिमिरले भने, ‘आर्थिक स्तर बलियो भएका नागरिक त बजारमा गएर खरिद गर्न सक्ने अवस्था हुन्छ तर विपन्न नागरिकलाई पनि पर्याप्त औषधी खुवाउन सकिएको छैन ।’

घोराही उपमहानगरपालिका वडा नं. १३ मा रहेको स्वास्थ्यचौकीले पनि उपमहानगरबाट औषधी नपाउँदा आफ्नो आन्तरिक स्रोतबाटै औषधी खरिद गरेर वितरण गरिरहेको छ । ‘उपमहानगरबाट अहिलेसम्म औषधी आएको छैन, वडा आफैले औषधी खरिद गरेर स्थानीयलाई उपलब्ध गराइरहेको छ’, यो वडाको भ्यूडरमा रहेको स्वास्थ्यचौकीका प्रमुख माधव गौतमले भने, ‘वडाकै स्रोतबाट खरिद भएको औषधीले स्थानीयलाई पु¥याइरहेका छौँ ।’

यता वडा तहमार्फत् आम नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउनु पर्ने जिम्मेवारी बोकेको घोराही उपमहानगरले गत आर्थिक वर्षमा औषधी उपलब्ध नै गराएन । त्यसो त औषधी खरिदका लागि सङ्घीय सरकारबाट लाखौँ रकमको बजेट आउँछ । आम नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नदेखिएको उपमहानगरले गत वर्ष औषधी नकिन्नुको बहाना ‘टेण्डर नलागेको’ बनायो । दुई पटक टेण्डर आह्वान गरेको र ठेक्का नलागेपछि औषधी खरिद गर्न नसकेको बताएको उपमहानगर स्थानीयलाई निःशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारीबाट टाढा रह्यो । ‘गत वर्ष औषधी बाँड्न सकिएन’, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले भने, ‘दुई पटक ठेक्का खोल्यौँ तर ठेक्का नै लागेन ।’

गत वर्ष नागरिकलाई एक पत्ता सिटामोल उपलब्ध नगराएको उपमहानरले यो आर्थिक वर्षको ६ महिना पुगिसक्दा पनि औषधी दिन सकेको छैन । फलतः हरेक वडामा औषधीको अभाव दिनानुदिन बढिरहेको छ । तर औषधी ठेक्का प्रक्रियाबाट ल्याइसकेको र केही दिनमै वितरण गरिने उपमहानगर बताउँछ । ‘१७ प्रकारका औषधी केही दिन अघि मात्रै आएको छ’, घर्तीले भने, ‘अब केही दिनमै बाँड्छौँ ।’ ठेक्का अनुसारको अर्को एक प्रकारको औषधी नआएका कारण औषधी वितरण गर्न नसकिएको उनले बताए ।

‘१८ प्रकारका औषधी आउनु पर्नेमा १७ प्रकारका औषधी मात्रै आएको छ’, घर्तीले भने, ‘आउन बाँकी रहेको औषधी आएपछि हामीले वडाहरूलाई बाँड्छौँ ।’ उनका अनुसार उपमहानगरले अहिले ४ लाख बजेटमा औषधी खरिद गरेको छ । औषधी खरिदकै लागि भनेर सङ्घीय सरकारबाट ३५ लाख रुपैयाँ बजेट आएको छ भने उपमहानगरले २५ लाख रुपैयाँ औषधी खरिदका लागि छुुट्याएको उनले जानकारी दिए । सङ्घीय सरकारबाट लाखौँ रकम लिएर पनि उपमहानगरले औषधी खरिद गर्न सक्दैन तर वडाबासीलाई औषधी खुवाउन वडाले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेका छन् । यो समाचार आजको गोरक्ष राष्ट्रिय दैनिकमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्