कनिका संवाददाता
असार २९,काठमाडौं
प्रदेश दुइ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको बजेट एक महिनापछि बहुमतले पारित भएको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो । गत असार १ गते प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गराउन साथ दिएका थिएनन् । सर्वसम्मतले बजेट पारित नभएपछि मत विभाजन अर्थात् पारितको पक्षमा र विपक्षमा रहेका सांसदलाई सभामुख सरोज यादवले उभिन लगाउनुभएको थियो । प्रदेशका कुल १ सय ७ सांसदहरुमध्ये प्रदेश सभाको बैठकमा उपस्थित ८० जनामध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए । बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षीले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विपक्षीले विरोध जनाएका थिए ।