प्रतिष्ठानमा फार्मेसी विवाद; “साझालाई निरन्तरता देऊ”: स्वास्थ्य मन्त्रालय, “सिनेटको निर्णय मान्छौँ” : प्रतिष्ठान – Kanika Khabar
Thursday, February 13Nepali News Portal

प्रतिष्ठानमा फार्मेसी विवाद; “साझालाई निरन्तरता देऊ”: स्वास्थ्य मन्त्रालय, “सिनेटको निर्णय मान्छौँ” : प्रतिष्ठान

    मा प्रकाशित

कनिका डेस्क
घोराही, वैशाख १६ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको साझा औषघि पसल हाललाई सञ्चालनमा राख्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केनद्रले मङ्गलबार जिल्ला प्रशासन कार्यालयका नाममा पत्र पठाउँदै सचिवस्तरको यो निर्णयका बारेमा जानकारी गराएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई समेत बोधार्थ पठाइएको सो पत्रमा ‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को बेला औषधि पसल बन्द रहेकोमा पछि भएको सम्झौता अनुसार हुने गरी हाललाई साझा स्वास्थ्यवाट सञ्चालित औषधि पसल सञ्चालन हुने व्यवस्था गर्न’ भन्ने उल्लेख गरिएको छ । साझा औषधि पसल र स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको सम्झौताको अवधि गत असारमा सकिएको थियो ।
यता प्रतिष्ठानका अस्पताल निर्देशक सागर पन्थी (क्षेत्री) ले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्रतिष्ठानको तेस्रो सिनेट सभाले अस्पताल हाताभित्र रहेको साझा स्वास्थ्य हटाई आफ्नो अस्पतालको फार्मेसी चलाउन निर्णय गरेकाले त्यो निर्णयवाट पछाडि नहट्ने बताएका छन् । अस्पताल निर्देशक पन्थीले प्रतिष्ठान स्वायत्त संस्था भएकाले यसको आफ्नै ऐन नियम रहेको भन्दै साझा हटाउने विषयमा प्रतिष्ठानको सिनेट सभामा प्रधानमन्त्रीको प्रस्ट निर्देशनसहित सिनेट सभाको निर्णय रहेको र प्रतिष्ठानको कुलपतिले गरेको निर्णय नै आधिकारिक भएकाले सोही निर्णय नै प्रतिष्ठानको निर्णय हुने बताए । प्रतिष्ठानले आफ्नो फार्मेसी चलाउने सिनेट सभाले र यसअघिका सरकारले निर्णय गरेको भन्दै यसमा वहस गर्न आवश्यक नरहेको बताए । ‘प्रतिष्ठानको सिनेटले अस्पतालले फार्मेसी चलाउने निर्णय गरेको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेट सभामा साझाको वारेमा स्पष्ट कुरा राखिसक्नुभएको छ, त्यसमा पनि प्रधानमन्त्रीकै अध्यक्षतामा भएको तेस्रो सिनेट सभाले अस्पतालले आफ्नो फार्मेसी चलाउने निर्णय गरिसकेको छ, सोही निर्णय अनुसार काम भइरहेको छ–अस्पताल निर्देशक पन्थीले भने–गएको वर्षदेखि नै साझालाई खाली गर्न भनिसकेको हो, कोरोनाको बेला हटाएको त होइन् ।’ उनले प्रतिष्ठानको सिनेट सभाभन्दा ठूलो केही नरहेको भन्दै प्रतिष्ठानको कुलपतिले सिनेट सभावाट गरेको निर्णय नै प्रतिष्ठानले मान्ने पनि बताए । निर्देशक पन्थीले भने, ‘‘सचिवस्तरको निर्णय हामीलाई स्वीकार्य हुँदैन, सिनेटको अभिभावक भनेको प्रधानमन्त्री हुन्छ , प्रधानमन्त्रीबाट नै साझालाई निरन्तरता दिने निर्देशन आएपछि मान्छौँ, अन्यथा कुनै पनि निर्णय÷निर्देशन हाम्रा लागि अस्वीकार्य रहन्छ ।’’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्