प्रधानमन्त्री ओली अयोध्या आलोचनामा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

प्रधानमन्त्री ओली अयोध्या आलोचनामा

    मा प्रकाशित

कनिका खबर
असार ३०, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि चर्को विवादमा तानिएका छन् । यतिबेला उनको आलोचना देशभित्रैबाट भएको हो ।

प्रधानमन्त्री ओलीले हिजो सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्‍ज पश्चिममा पर्ने गाउँमा जन्मिएको अभिव्यक्ति दिएपछि उनको आलोचना चुलिएको हो ।

भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउँदै सीता भारत अयोध्याका रामलाई नभइ वीरगञ्ज पश्चिमस्थित ठोरियाका रामसँग विवाह भएको उल्लेख गरेपछि सामाजिक सञ्जालहरूमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पत्रकार एवं अभियान्ताहरूले आलोचना गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ । सिधै वैकुण्ठधामको यात्रा गरौँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै ट्वीटरमा लेखेका छन्‌,

‘​प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।’

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म भावनात्मक विषय भएकाले यसका सम्बन्धमा बेतुकका अभिव्यक्ति दिँदा लज्जित बनाउने तर्क राखेका छन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गर्दै लेखेका छन्– अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको बताएका छन् ।

पत्रकार अमित ढकालले ओलीको अभिव्यक्तिको सन्दर्भमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार भएर काम गरिसकेका डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आश्चर्यता प्रकट गर्दै ‘प्रधानमन्त्रीले भारतीय टिभी च्यानलसँग प्रतिस्पर्धा गर्न खोजेको हो ?’ भनेर प्रश्न गरेका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सुदीप गौतमले ओलीप्रति कटाक्ष शैलीमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –

हामी नयाँ अयोध्या खोज्ने अभियानमा लागेकै हो भने यसो गरौं न…..
अयोध्या सरयू नदीको तटमा छ भनिएको छ । राजा दशरथको अन्त्यष्ठी पनि सरयू नदीको तटमा गरिएको रे । सरयू ( ववई ) नदीको उद्गम स्थल दाङको रामपुर हो । त्यसैले अयोध्यालाई ठोरीतिर नसारौ सोझै दाङ झारौं।
यहाँ ‘वाल्मीकि’ भैसकेको अभिनय गर्ने ‘रत्नाकरहरु’ पनि धेरै छन् ।

यसैगरी पत्रकार तथा सामाजिक अभियन्ता किशोर चन्द्र गौतमले सामाजिक सञ्जाल फेसबुकमा आपत्ति प्रकट गर्दै लेख्छन् –
नहल्लाऊ मेरा अयोध्या,द्वारका,कैलाश र मानसरोवरहरू

प्रायोजित रूपमा अयोध्या नवस्थापित गराउने प्रधानमन्त्रीको नियत र वाणी मलाई सह्य छैन । अयोध्या र द्वारका मेरा लागि मात्र भारत अनि मानसरोवर र कैलाश मेरा लागि मात्र चीन होइनन्। आज दक्षिणविरोधीले अयोध्या भत्काई दिने, भोलि उत्तरविरोधीले आएर धौलागिरिमा कैलाश र मानसरोवर सार्दिने । आस्था तिम्रा लागि होला अफिम, मेरो त जीवनधारा हो । आफ्नो राजनीति चम्काउन कुनै चीज बाँकी नराख्ने ध्वस्त पार्नहरु अकर्मण्यता र आपसी द्वन्द्वले धोती फुस्केपछि भारतीय दुष्ट शासकहरुले दुखाएको मन र राष्ट्रवादको सहारा लिएर आस्थामा प्रहार गर्दैछन् भस्मासुर हरू । केवल सत्ताको असफलताबाट ध्यान भट्काउन । म तीब्र असहमति व्यक्त गर्न चाहन्छु, प्रधानमन्त्रीको अभिव्यक्तिमा । मेरा अयोध्या द्वारका ,कैलाश मानसरोवर नहल्लाऊ कसैले ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्