आज मातातीर्थ ओैंसी, यस्ता छन् किम्वदन्ती – Kanika Khabar
Thursday, March 20Nepali News Portal

आज मातातीर्थ ओैंसी, यस्ता छन् किम्वदन्ती

    मा प्रकाशित

दाङ, २६ वैशाख ।
आज बुधबार मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन परेकाे छ । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिने गरिन्छ ।

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

आजकाे दिनमा आमालाई विभिन्न उपहार दिने प्रचलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा ठूलो मेला लाग्छ । माता तिर्थ औंशीको अवसर पारेर आज चन्द्रगिरी नगरपालिकाले सार्वजनिक विदा नै दिएको छ ।

मातातिर्थबारे एक किम्वदन्ती

जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए ।

ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएन । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रा मात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंशी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे ।

हरेक वर्ष उक्त औंशीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।

यसरी हरेक वर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

मातातीर्थमा कुण्ड

त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे। तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित व्यक्ति सम्झदै स्थानीयले उनीहरुमाथि आक्रमण गर्न सुरु गरे। त्यसपछि श्रीराम र स्थानीयका बिचमा घमासान युद्ध भयो। सो युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए। माता सीता पनि प्यासले आकुल ब्याकुल भइन्।

माता सीता पानीको प्यासले आकुल ब्याकुल भएपछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन। पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले।

‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा वाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो। उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन। कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो। यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भन्न थालिएको धार्मिक मान्यता छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्