जिम्मेवार निकायको जवाफदेहिताका लागि कानुन – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जिम्मेवार निकायको जवाफदेहिताका लागि कानुन

    मा प्रकाशित

तुलसीपुर । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले जिम्मेवार निकायको जवाफदेहिताका लागि कानुनको आवश्यकता पर्ने कुरामा जोड दिएका छन् । उनले जिम्मेवार निकायले सही ढँगले काम नगर्दा कानुनको आवश्यकता पर्ने गरेको बताए । ‘जहाँ जिम्मेवारी पुरा भएको हुँदैन त्यहाँ कानुनको आवश्यकता पर्ने गर्दछ’ मुख्य न्यायाधिश पाण्डेले भने ।
६५ औ कानुन दिवसका अवसरमा तुलसीपुर मेट्रो कलेज कानुन संकायले आयोजना गरेको कानुनको परिपालनामा जिम्मेवार निकायको भुमिका विषयक कार्यक्रममा प्रमुख अतिथिकारुपमा बोल्दै मुख्य न्यायाधीश पाण्डेले कुनै पनि कुरालाई सही या गलत भन्दा पनि त्यसलाई कसरी राम्रो बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताए । ‘अहिले कुनै पनि क्षेत्र राम्रो छैन, यहाँ केही पनि राम्रो भएको छैन भन्ने खालको सोच देखिन्छ । यसलाई गहिरो ढँगले बुझेर सुधार गर्न लाग्नुपर्दछ’ प्रमुख अतिथि पाण्डेले भने ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संविधानले निर्देश गरे अनुसारका कानुन नबन्दा चाहे अनुसार कार्यसम्पादन गर्न नसकिएको बताए । समयमै कानुन नबन्दा संघीयता कार्यान्वयनमा समस्या उत्पन्न भएको बताउँदै खड्काले सुशासनका लागि कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए । वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कानुनी अभावमा समयमै र सही न्याय सम्पादन गर्नकालागि जटिलता उत्पन्न भएको बताए । उनले आवश्यक कानुन निर्माणमा सरकारले चासो दिनुपर्ने कुरामा समेत जोड दिए।
सरकारी वकिल कार्यालय तुलसीपुरका सहन्यायाधिवक्ता मोहनसागर बस्यालले कानुनका बारेमा दिवसमा मात्रै चर्चा गर्नु भन्दा सधै उत्तिकै महत्व दिनुपर्ने बताए । कानुनमा उल्लेख भएपनि समुदायले त्यसको पालनामा चासो नदिदा कार्यान्वयनमा समस्या आएको उनले बताए । ‘हामीकहाँ कानुनमा कति जन्ति लैजाने भन्ने कुरा उल्लेख गरिएको छ तर कसैले पनि त्यसको पालना गरेको छैन र पालना नगर्नेलाई कानुनी कारबाही पनि भएको छैन’ उनले भने । कानुनको पालना कहाँ कहाँ भएन र किन भएन भनेर आजका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने आवश्यकता रहेको कुरामा उनको जोड थियो । कार्यक्रममा विद्यार्थीहरु दिलिप केवट र इन्द्रबहादुर खत्रीले कानुन दिवसको सान्दर्भिकतामा बारेमा प्रस्तुति दिएका थिए ।
कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कानुन संकाय प्रमुख विजय पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने सहजिकरण मालती श्रेष्ठले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्