कनिका खबर
साउन ३,काठमाडौं ।
शनिबार दिउँसो तीन बजेदेखि साझ सात बजेसम्म बसेको सचिवालय बैठकमा सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टीभित्रको पछिल्लो विवादबारे सहमति नजुटेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।
नेकपामा सत्ता संघर्षको विवाद चरम विन्दुमा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट राजीनामा दिन दबाब दिरहेको छ ।
प्रधानमन्त्री ओली भने आफू दुबै पदबाट राजीनामा नदिने अडान राख्दै अएका छन् । उक्त विषयमा नेकपाभित्र देखिएको विवादले असार १० गतेबाट जारी स्थायी समिति बैठक १८ गतेयता बस्न सकेको छैन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् ।
ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका छन् । तर, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका गरेका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्ड केन्द्रीय कमिटीको बैठक बोलाउने समझदारी विपरीत एकाएक सचिवालय बैठक बोलाउनतिर लागेपछि शुक्रबार नै केही नेताहरुले दुई अध्यक्षबीच सहमति भएको आशंका गरेका थिए ।
शनिबार बालुवाटारमा बसेको बैठकमा महाधिवेशनको प्रस्तावबारे दुबै अध्यक्षले सहमति भए÷नभएको त केही बताएकाछैनन् ।
शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशनको नयाँ प्रस्ताव ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्रीको आफ्नो पुरानो अडानबाट पछि हटेका छन् ।
सचिवालय बैठक सकिनासाथ प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासतिर लागेका थिए ।