हामी नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छौं । २०३३ साल पुस १६ गते भारतबाट ८ बर्ष लामो निर्वासन त्यागेर नेपाल फर्किँदा उहाँमाथि गम्भीर मुद्दा लगाइएको थियो । कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता, कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो ।
बीपीको राष्ट्रिय मेलमिलाप नीतिका मुख्य तीन रणनीति थिए । पहिलो, राजतन्त्र र प्रजातन्त्र एकअर्काका पूरक हुन सक्छन र सँगै जान सक्छन्, तर राजा सह्रदय पूर्णरुपमा प्रजातान्त्रिक हुन जरुरी छ । यस्मा कुनै सैद्धांतिक द्वन्द्व छैन । दोस्रो, राष्ट्र, राष्ट्रियता र देशको अस्तित्व रक्षा सामु आफ्नो व्यक्तिगत खतरा नगन्य । अर्थात् राष्ट्रियताका सवालमा राजासँंग सहकार्य । तेस्रो, राजा र पञ्चायत व्यवस्था एउटै कुरा होइन । पञ्चायत राजतन्त्रको दीर्घकालीन हितमा पनि छैन । अर्थात् पञ्चायतले राजालाई सक्रिय गराई राजसंस्थाको जरोमा धमिरा लगाउने काम गरेको छ समयमै राजाले सक्रिय राजनीति नछोडे राजसंस्था सदाका लागि अन्त्य हुनेछ । अर्थात यस सन्दर्भमा बीपी गणतान्त्रिक पनि हुनुहुन्थ्यो ।
२०३३ साल पुस १६ गते भारतबाट ८ बर्ष लामो निर्वासन त्यागेर नेपाल फर्किँदा उहाँमाथि आठवटा गम्भीर मुद्दा लगाइएको थियो । राष्ट्र र राष्ट्रियताको सवालमा भारतमा बसेर विदेशीसँग सम्झौता गर्नुभन्दा नेपालमा आएर नेपालको माटो सुहाँउदो क्रान्ति देशमै गर्नुपर्छ भनेर त्यतिबेला राष्ट्रिय मेलमिलापको नीतिका साथ सान्दाजु फर्किनु भयो । मेलमिलापको नीति अपनाउँदा पनि बीपीमा क्रान्तिकारीताको भावनामा न कुनै कमी थियो, न त्यस नीतिले छोटो समयमा ल्याएको राजनीतिक प्रभाव कुनै सशस्त्र क्रान्तिकोभन्दा कम थियो ।
बीपी कोइरालाले राजा र नेपाली कांग्रेस एक अर्काका परिपुरक हुन् भनेर नेपाल फर्किँदै गर्दा उहाँलाई नेपाल आउन नदिने शक्तिको खेल पनि निकै ठूलो थियो । तर ती सबै कुराहरुको प्रवाह नगरी नेपाल फर्किनु भएका बीपीकै मार्ग दर्शनका आधारमा नेपालको राजनीति अघि बढेको हो । २००७ सालमा प्रजातन्त्र पुनस्र्थापना गर्दा नेतृत्व गर्नु भएका बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाउनु भयो । तर, तत्कालिन राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि जेल पर्नु भएका बीपी २०२५ सालमा जेलबाट छुटेर भारत निर्वासनमा जानु भयो ।
भारतको स्वाधीनता आन्दोलनमा समेत भूमिका खेल्नु भएका बीपी समाजवादी नेताको रुपमा दक्षिण एसियाकै नक्षेत्र बन्नुभयो । उहाँको दूरदर्शिताकै कारण नेपालको आधुनिक इतिहास निर्माणमा ठूलो योगदान रहेको छ । भलै उहाँले नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएको देख्न पाउनु भएन । तर कांग्रेसको नेतृत्वमा, उहाँकै समकक्षी गणेशमान सिंह कमाण्डर भएर २०४६ सालको आन्दोलन सफल भयो र देश प्रजातान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेको हो ।
नेपालका कम्युनिष्टलाई शंकाको दृष्टिले हेर्ने बीपीले कहिले पनि कम्युनिष्टसँगको सहकार्यलाई रोज्नु भएन । उहाँ जहिले पनि कम्युनिष्ट भनेका दरबारिया हुन् र जतिबेला पनि उनीहरुले जालझेल गर्न सक्छन् भन्ने चेत राख्नु हुन्थ्यो । राष्ट्रिय मेलमिलापको नीति आजको दिनमा पनि त्यत्तिकै सान्दर्भिक छ । बीपीले राष्ट्रिय मेलमिलापको सन्दर्भमा मूलतः तीन कुराहरु भन्नु भएको थियो । राजाले प्रजातान्त्रिक बहुदलीय शासन प्रणालीलाई सहृदय र पूर्णरुपमा मान्छन् भने प्रजातन्त्र र राजसंस्थासँगै अघि जान सक्छ । यस विषयमा अझ प्रष्ट पार्दै बीपीले भन्नु भएको थियो, ‘प्रजातन्त्रका सन्दर्भमा यदि राजाले मान्दैनन् भने प्रजातन्त्रका सन्दर्भमा मेरो समेत संघर्ष रहने छ ।’
तर जसरी अन्तर्राष्ट्रिय परिस्थीति राष्ट्रियताको सन्दर्भमा अप्ठ्यारो हिसावले गइसकेको छ । संसारमा ठूला राष्ट्रले साना राष्ट्रलाई अतिक्रमण गर्ने र दक्षिण एसियामा सिक्किम भारतमा विलय हुनु, पाकिस्तान विभाजित भएर बंगलादेशको स्थापना हुनु र तत्कालिन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीमा विस्तारवादी सोच हाबी हुँदै लोकतान्त्रिक विचारलाई निषेध गरेर संकटकालको घोषणा गरेर नेता कार्यकर्तालाई जेलमा कोच्ने कुरा बीपीलाई पटक्कै चित्त बुझेको थिएन । अझ अफगानिस्तानमा सोभियत रुसको प्रत्यक्ष दबाबमा राजा अपदस्थ हुनुलाई पनि नजिकबाट नियाल्नु भएका बीपीले कतै हामी आफू–आफू नमिल्दा नेपाल पनि यस्तै अवस्थामा जकडिने त होइन भन्ने चेतका साथ भारतबाट नेपालतर्फ पाइला अघि बढाउनु भएको थियो ।
बीपीले राष्ट्रियता र प्रजातन्त्रका सन्दर्भमा राजासँग सहकार्य गर्न हात अघि बढाउनुभयो । बीपीको स्पष्ट लाइन के थियो भने प्रजातन्त्रका लागि राजासँगै सघंर्ष गर्नुपर्छ । जननिर्वाचित सरकारलाई अपदस्त गर्ने तत्कालिन राजा महेन्द्र भए पनि उनकै जेठा छोरा वीरेन्द्रले राजकीय सत्ता सम्हालेका थिए । त्यसैले बीपीलाई प्रजातन्त्र फिर्ता ल्याउनका लागि राजसंस्थासँग संघर्ष गरे पनि राष्ट्रियता खतरामा पर्न नदिनका लागि उनै राजासँगै सहकार्य गर्नुपर्छ भन्ने मान्यता राख्नु भयो, जसले गर्दा नेपालको स्वतन्त्रता गुम्न पाएन ।
यदि बीपी कोइरालाले त्यतिबेला मेलमिलापको नीति नलिएको भए तत्कालिन परिस्थीति नेपालको अनुकुल पक्कै हुने थिएन । अहिले हामी नेपाली भन्ने गौरव गर्ने ठाउँ पनि नरहन सक्ने परिस्थीतिका बिचबाट बीपीले नै आफुमाथि फाँसी नै हुन सक्ने थुप्रै मुद्दा हुँदा हुँदै स्वदेश फर्कने निर्णय गर्नुभयो । पञ्चायत व्यवस्थामा राजा आफ्नो गुणगान गाउनेहरुसँग मात्रै सम्पर्कमा थिए । त्यतिबेला पञ्चायत र राजा भनेको एउटै हो भन्ने भाष्य निर्माण भएका बेला बीपीले त्यसमा पनि आफ्नो स्पष्ट दृष्टिकोण दिनुभयो ।
त्यतिबेला जति धेरै समय राजाले पञ्चायत टिकाइरहन्छन् त्यति राजसंस्थाको आयु छोटो हुँदै जान्छ भन्नु भएको थियो । बीपीलाई यहाँनेर गणतन्त्रवादी नेताको रुपमा पनि कतिपयले गर्ने गरे पनि उहाँलाई गणतन्त्रवादी नभई यथार्थवादी नेताको रुपमा चित्रण गर्न जरुरी छ । बीपी भनेको नेपालको राजनीतिमा भविष्यबेत्ता पनि हो । उहाँले लिनु भएको संकल्प र देखाउनु भएको सपनाका आधारमा नेपालको अर्थतन्त्रदेखि हरेक कुराहरु अघि बढिरहेका छन् ।
बीपी कोइरालाले छोटो समय सरकारको नेतृत्व गरे पनि उहाँले दूरगामी महत्वका कुराहरु गरेर जानु भयो ।क्रान्तिकारी भूमिसुधार, राजारजौटा उन्मुलन लगायत थुप्रै निर्णय गर्नुभयो भने । राष्ट्रिय योजना आयोगमा हलो जोतिरहेका किसानको फोटो राख्नु र उनलाई हेरेर देशको नीति बनाउनु भन्ने जुन मानक उहाँले स्थापना गर्नुभयो, त्यो अहिले पनि त्यत्तिकै समय सान्दर्भिक छ ।
२०३३ साल पुस १६ गते काठमाडौंमा विमानबाट ओर्लिने वित्तिकै बीपी कोइराला, गणेशमान सिंह लगायतलाई पक्राउ गरेर सुन्दरीजलमा राखिएको थियो भने २०३४ सालमा रिहा गरिएको थियो । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ । बीपी कोइरालाले प्रजातान्त्रिक व्यवस्था फर्काउन र राष्ट्रियताको रक्षाका लागि २०३३ सालमा जोखिम उठाए पछि अहिले नेपाल प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ ।
राजाले विगतमा पञ्चायतलाई जोगाएजस्तै २०५८ सालको दरबार हत्याकाण्ड पछि राजगद्दीमा बसेका तत्कालिन राजा ज्ञानेन्द्रमा अत्यधिक सत्तामोह बढ्दा राजनीतिक दलहरुमाथि धावा बोल्न पुगे र विगतकै पञ्चहरु तुलसी गिरी, कीर्तिनिधि विष्टको साथ लिएर राजनीतिक दलहरुलाई पेल्दा राजसंस्थाको आयु नै समाप्त भयो । नेपालको संविधान २०७२ अनुसार देशमा लोकतन्त्र स्थापना भएको छ भने हाम्रो संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको अवस्थामा हरेक कुराहरुमा सहमति, सहकार्य र एकताको अभ्यासलाई आत्मसात गरेको छ ।
अहिले पनि कुनै एक दलले मात्रै सरकार बनाएर सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले पनि सबैबीचको आपसी एकता र मेलमिलापको नीतिका माध्यमबाट जनताका जनजीवनलाई सार्थकता प्रदान गर्न जरुरी छ । त्यो नै स्वर्गीय बीपीप्रति सच्चा श्रद्धान्जलि हुने छ ।
(घिमिरे कांग्रेस महासमिति सदस्य हुन् ।)