दाङ, १ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) दाङले मुलुकमा मनाइने चाडपर्व, संस्कृति र संस्कारको संरक्षण सबैको साझा दायित्व भएको जनाएको छ । माघी पर्वको अवसरमा एक शुभकामना विज्ञप्ति जारी गर्दै प्याब्सन दाङले चाडपर्व, संस्कृति र संस्कारको संरक्षण सबैको साझा दायित्व भएको जनाउँदै यस्तो दायित्व वहनमा प्याब्सन सदैव जिम्मेवार रहँदै आएको जनाएको हो ।
‘नेपाल बहुजातिय, बहुभाषिक तथा बहुसांस्कृतिक मूलुक हो । विभिन्न संस्कृतिले सुसज्जित नेपाल संस्कृतिको अलका हो । विश्वलाई आकर्षण गर्न सक्ने नेपालसँग चुम्बकीय संस्कृतिको गुण रहेको छ । मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिएको हो । मुलुकमा मनाइने यस्ता पर्व, संस्कृति र संस्कारको संरक्षण हामी सबैको साझा दायित्व हो । यस्तो दायित्व वहनमा प्याब्सन सदैव जिम्मेवार रहँदै आएको छ । ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या÷सेल्र्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस महान पर्वले सम्पूर्ण नेपालीहरुमा उत्साह, उमङ्ग, खुशी भर्दै आपसी सद्भाव, सदाशयता, सहयोग कायम गर्नुका साथै सबैमा सकारात्मक सोचको विकास गरोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
माघी पर्वको पूर्व सन्ध्यामा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको थियो ।