छैनन् यसवर्ष बोलबम यात्री, पूर्व–पश्चिम राजमार्ग सुनसान – Kanika Khabar
Thursday, April 18Nepali News Portal

छैनन् यसवर्ष बोलबम यात्री, पूर्व–पश्चिम राजमार्ग सुनसान

    मा प्रकाशित

कनिका खबर
साउन १२, महोत्तरी
हरेक बर्ष साउन महिनाको आईतवारदेखी मंगलवारसम्म श्रद्धालु भक्तजनहरूको भिड हुने महोत्तरीको बर्दिवासस्थित पूर्व–पश्चिम राजमार्ग यसवर्ष सुनसान छ । सिरहाको कमला नदीबाट जल लिएर महोत्तरीकोे बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ मन्दिरमा जल चढाउन र दर्शन गर्न आउने स्वदेशी तथा भारतीयहरूले गर्दा पूर्व–पश्चिम राजमार्गमा थेगी नसक्नु भीड हुन्थ्यो । तर यस वर्ष कोरोना संक्रमण त्रासका कारण राजमार्ग क्षेत्र सुनसान छ ।

कोरोनाका कारण सीमा नाका बन्द छ भने जिल्ला प्रसाशन कार्यालय महोत्तरीले बर्दिवास नगरपालिकालाई मन्दिरमा मेला, बजार नलगाउन तथा जल नचढाउन र भिडभाड नगर्न परिपत्र गरेपछी भारतीयहरू र स्वदेशी तथा स्थानीय बोलबमका श्रद्धालुहरू राजमार्गमा देखिएका छैनन् । अघिल्ला वर्षहरूमा साउन महिनामा राजमार्गमा आईतवारदेखी मंगलवारसम्म मानिसको भीड व्यवस्थापन गर्न महोत्तरी प्रहरीलाई हम्महम्मे पर्ने गरेको थियो । पैदल, मोटरसाइकल, साना अन्य गाडी तथा ट्याक्टरमा समेत हजारौैँको संख्यामा मानिसहरू टुटेश्वर मन्दिरमा दर्शन गर्न आउने गरेका थिए । यसैगरी हरेक वर्ष साउन महिनाभर श्रद्धालुको अत्यधिक भिड हुने सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा पनि यसवर्ष भीडभाड छैन । सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीमा जल लिन आउने भारतीयहरुले गर्दा पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलङ्गवा सडकमा भिडभाड हुने गरेको थियो । तर यस वर्ष अहिले सीमा नाका बन्द रहेकाले भारतीयहरू जल लिन बाग्मती आउन नपाएका हुन् । जिल्लाभित्रैका बासिन्दा भने थोरै संख्यामा जल लिन पुगेका छन् ।

नवलपुर–मलंगवा सडक हुँदै दक्षिणी भेगहरुबाट जल लिनका लागि जिल्लाकै श्रद्धालुहरू बाग्मतीमा पुगेका स्थानीयले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्