काठमाडौं, ६ चैत ।
प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले अनियमित रुपमा विद्युत अवरुद्ध नगरिदिन आग्रह गर्नुभएको छ । बुधबार बसेको संसद बैठकमा बोल्दै सांसद पोख्रेलले यस्तो आग्रह गर्नुभएको हो ।
संसद बैठकको शून्य समयमा बोल्दै सांसद पोख्रेलले वार्षिक तथा एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरु अध्ययनमा व्यस्त रहने समयमा बिना सुचना विद्युत अवरुद्ध हुने गरेको बताउनुभयो । सांसद पोख्रेलले बिहान साँझ छिनछिनमै विद्युत जाने समस्याले विद्यार्थीहरुको अध्ययनमा समस्या परेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरुबाट नै गुनासो आफुलाई आएको बताउँदै विद्युत अवरुद्ध नगरीदिन आग्रह गर्नुभयो । साथै सांसद पोख्रेलले विद्यार्थीहरुको पढाइमा सहज हुनेगरी व्यवस्था गर्न सभामुखमार्फत नेपाल सरकार, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउनु भएको छ ।