कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास – Kanika Khabar
Sunday, April 27Nepali News Portal

कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास

    मा प्रकाशित

धनगढी, ८ चैत्र ।
कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा अनुमति बिना १०० भन्दा बढी विदेशी नागरिक बसोबास गरिरहेका पाइएको छ । उनीहरु एक साताभन्दा बढी समयदेखि बसिरहेको खुलेको छ।

यसबारे जानकारीसँगै जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्र उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको छ। भारत, अमेरिका, चीन लगायतका विभिन्न देशका नागरिक ‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर समूहमा आएको र कुनै आधिकारिक निकायबाट अनुमति नलिई बसिरहेको पाइएपछि उनीहरूलाई गन्तव्यतर्फ जान निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । बिहीबार नै हमाल नेतृत्वको टोली उनीहरु भएको स्थानमा पुगेको थियो ।

निरीक्षण क्रममा उनले त्यहाँ १६ देशका झन्डै सय मानिसहरु बसिरहेको फेला परेको जानकारी दिए। उनीहरूलाई तत्काल जङ्गल छाड्न भनिएको प्रजिअ हमालले बताए।

स्थानीयवासीबाट विदेशी नागरिकहरू अर्धनग्न भएर हिँड्ने, अस्वाभाविक गतिविधि गर्नेजस्ता गुनासो आएपछि जिल्ला सुरक्षा समितिका प्रमुखहरू समेत हमाल अनुगमनका लागि पुगेका थिए
‘पुरूष र महिलाहरू नै थिए। उनीहरूको गतिविधि अमर्यादित देखिन्थ्यो। त्यहाँ घुम्नका लागि अनुमति पनि लिएका थिएनन्। चौबिस घन्टाभित्र जङ्गल छाड्न भनिएको छ । ’ प्रजिअ हमालले भने।

अनुगमनका क्रममा ती विदेशी नागरिकहरूले आफूहरू प्रकृति प्रेमी (नेचर लभर) रहेको बताउँदै विभिन्न देशका प्राकृतिक स्थानहरूमा पुगेर बस्ने गरेको बताएका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्