काठमाडौँ, ८ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । आज सोमबार काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको सम्मलेनमा उनले सहमति गरेर कार्यक्षेत्रमा फर्कन शिक्षकलाई आग्रह गरेका हुन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’
उनले सामुदायिक विद्यालयमा भर्ना नभएपछि विद्यार्थी निजीमा जाने जोखिम औँल्याए । “भर्ना छोडेर उहाँहरू यहाँ बसिरहनुभएको छ । सामुदायिक विद्यालयमा भर्ना नहुने, त्यसो भएपछि त निजी विद्यालयमा भर्नाको लहर जाने भयो,” उनले भने, “उहाँहरूलाई पनि कुनै लाभ छैन । विद्यार्थीलाई घाटा छ । अभिभावकलाई पीडा छ ।”
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन् । उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् ।
यसअघि शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग आफ्ना मागबारे छलफल समेत गर्दै आएका छन् । तर सहमति नजुट्दा आज २० औं दिनसम्म पनि शिक्षकहरुले आन्दोलन जारी राखे ।
तर शिक्षकहरुले औपचारिक वार्ता गर्दैनौं भन्ने सुनेको बताउँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?’