सामना सांस्कृतिक अभियानले उत्साहित बनायो – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

सामना सांस्कृतिक अभियानले उत्साहित बनायो

    मा प्रकाशित

गोविन्द खड्का

घोराही । नेपाल कम्युनिष्ट पार्टीका पिविएम एवं जनकलाकार माइला लामाले कार्यक्रमको शुरुवातमै पञ्चायतको विरुद्ध लड्दा लड्दै सहिद हुने दाङका महान सहिद नेत्रलाल अभागी, जनयुद्धका महान सहिदहरु विजय चौधरी, ठगबहादुर नेपाली, वेपत्ता योद्धा नविना चौधरी, लोकप्रिय कम्युनिष्ट नेता शिवराज गौतमलगायत तीनसयबढी सहिद र वेपत्ता योद्धालाई स्मरण गर्नुभयो ।

यसरी कुनै पनि पार्टी नछुट्याई गरिएको नेता लामाको सम्बोधनले शुक्रबार घोराहीमा भएको समाजवादका लागि सामना सांस्कृतिक अभियानलाई सबैका लागि दर्शनीय बनायो । ‘हाम्रो धेरै सम्मान छ, हाम्रो माया छ । देशभक्तलाई क्रान्तिकारी योद्धालाई ।’ सम्पूर्ण कलाकारले सामूहिक गीतबाट कार्यक्रम शुरु भएको थियो । यसैगरी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष साहित्यकार चलचित्र निर्माता निर्देशक केएल पीडितको ‘जबसम्म उल्टा सारा चलन सकिदैन, तबसम्म यो धर्तीमा क्रान्ति रोकिदैन’ जस्ता शब्दहरुको गीत गाउँदा उपस्थित दर्शक उत्साहित भए ।

मञ्चमा नक्कली बन्दुकधारीहरुको एउटा समूह दौडादौड ग¥यो । जनयुद्धकालको भिडन्तको झल्को दिन्थ्यो । त्यस क्रममा एकजना महिलाको छातीबाट भल्भल्ती रगत बगेर रातै बनायो । एकजना योद्धा उनको छेउमै पुगेर विलाप गर्न थाले । जनमुक्ति सेनाको पोशाक लगाएकाहरुको समूह आयो, उठाएर लग्यो । त्यो दृश्यले दर्शकदीर्घा स्तव्ध भयो । सहभागी पूर्वजनमुक्ति सेनाहरुले जनयुद्धमा लड्दाको स्मरण गरे । यसैगरी कवितामा पनि अभिनय गरिएको थियो । जहानियाँ राणा शासनकालमा दशरथ चन्द, धर्मभक्त, गंगालाल, शुक्रराजको बलिदानलाई सम्मान गर्दै सोहीअनुसार आचरणको विकास गर्न शासकहरुलाई सुझाव दिइएको थियो ।

सो अवसरमा पूर्वमन्त्री मणि थापाले दश वर्षको जनयुद्धलाई हिंसा भनेकै कारण एमाले परित्याग गरेको बताउनुभयो । ‘तपाईंले नेकपा बनाउने बेला जनयुद्धको पनि गणतन्त्र ल्याउने भूमिका थियो, भन्नुभएको छ त्यही मानौं न भनें’– थापाले भन्नुभयो– ‘केपी ओली र शंकर पोख्रेलले मान्न तयार हुनुभएन । बन्दुकको शब्द सुन्नै चाहनुभएन । त्यही कारणले एमाले छोडें ।’ उहाँका अनुसार पहिलो कांग्रेसले, दोस्रो एमालेले बन्दुक उठायो त्यो न्यायका लागि हुने, तेस्रोपटक माओवादीले २०५२ सालमा उठाएको बन्दुक हिंसा कसरी हुन्छ ? भनी प्रश्न गर्नुभयो । उहाँले अबको विकल्प समाजवाद भन्दै एकीकृत जनक्रान्तिबाट समाजवाद आउने र त्यसको इमान्दार नेतृत्व नेत्रविक्रम चन्द विप्लवले गर्ने उहाँले भनाइ राख्नुभयो । अभियान अन्तर्गतको सांस्कृतिक कार्यक्रम शनिबार दिउँसो तुलसीपुर र साँझ दंगीशरणमा हुनेछ । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्