वैशाख, १४ दाङ ।
नेपाली काङ्ग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताउनुभएको छ । दुइ ठुला राजनीतिक शक्तिहरु मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न नसकेको भन्दै काङ्ग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । प्रेस युनियन दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको उहाँको आरोप छ ।
काङ्ग्रेस नेता महतले सक्षम, योग्य र अर्थतन्त्रलाई मार्ग निर्देश गर्ने गर्भनर नियुक्त हुनु पर्ने पक्षमा नेपाली काङ्ग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तिमा विलम्ब भएको उहाँको भनाइ छ । सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको भन्दै नेता महतले राजनीतिक नेतृत्वले अनावश्यक आश्वासन बाँड्दै हिँड्न नहुने पनि बताउनुभयो ।
एक अर्को प्रसङ्गमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्वन्धित व्यक्तिबाटै अशुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताउनुभयो । पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउने सम्भव नभएको पनि बताउनुभयो ।
प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्कोटराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पार्वती बस्नेतले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियो ।