दाङ, २ जेठ ।
जिल्ला प्रहरी कार्यालय दाङमा एक महिनाको अवधिमा ७६ वटा मुद्दा दर्ता भएका छन् । वैशाख महिनामा मात्रै यो सङ्ख्यामा मुद्दा दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी मासिक प्रगति विवरण र चालु आर्थिक वर्षको हालसम्म भएका अवस्थाबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार गत वैशाख महिनामा दाङमा कुल ७६ वटा घटना दर्ता भएकोमा २६ वटा फस्र्योट भएका छन् । मुद्दा दर्ता भएका घटनामध्ये ५० वटा प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चत्रबहादुर शाहले बताए । ती घटनामा संलग्न ५० जना पक्राउ परेका छन् भने नौ जना फरार रहेका छन् ।
उनीहरूको खोजी कार्य भइरहेको बताउँदै प्रहरी नायव उपरीक्षक शाहले वैशाखमा आत्महत्याका सबैभन्दा धेरै घटना भएको बताए । आत्महत्याका २१ वटा, लागूऔषधका आठवटा घटना अभिलेख भएका छन् । यसैगरी विभिन्न प्रकृतिका घटना पनि समाज बढ्दै गएकोप्रति चिन्ता र चासो व्यक्त गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न प्रहरी एक्लैको प्रयासले नपुग्ने भन्दै हरेक नागरिक जिम्मेवार र सचेत बन्न आवश्यक रहेको उनले बताए ।
समुदायमा बढ्दो आत्महत्या, लागूऔषध दुव्र्यसन र सवारी दुर्घटना रोकथामका लागि सबैको हातेमालोसँगै घरपरिवारमा सचेतना फैलाउन ढिलाइ गर्न नहुने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले बताए । समुदायमा बढ्दो लागूऔषध दुव्र्यसन, अपराधका घटना रोक्न समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको प्रमुख प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।
यसैगरी प्रहरी–नागरिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिएको तथा सचेतनामूलक गीतका माध्यमबाट समुदायस्तरमा पुग्ने काम गरिरहेको उनले बताए । समुदायमा हुन सक्ने अवान्छित गतिविधि रोक्न प्रहरीले चौबिसै घण्टा सुरक्षार्थ तैनाथ रहेको उनले बताए ।