एक वर्षमै २ हजार ३ सय ६९ जना प्रहरीले छाडे जागिर – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

एक वर्षमै २ हजार ३ सय ६९ जना प्रहरीले छाडे जागिर

    मा प्रकाशित

काठमाडौँ, ११ साउन ।
नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न थालेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म नेपाल प्रहरीबाट करिब २४ सयजना प्रहरीले राजीनामा दिएर अन्य पेशा अङ्गालेको विवरण नक्सालले नै आइतबार सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आर्थिक बर्ष २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म जवानदेखि अधिकृतसम्म २३ सय ६९ जनाले राजीनामा दिएका जनाएको छ । प्रहरीमा सरुवा, बढुवा र वृत्तिविकाससहितमा पछिल्लो समय भेदभाव, राजनीतिक कित्ताकाँट र उच्च तहको फट्याइँको परिणाम राजीनामा गर्ने क्रम बढेको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले कतिपय प्रहरीले राजनीनामा दिएर आकर्षक तलबसहित वैदेशिक रोजगारीमा जाने गरेको पनि खुलाएका छन् ।

घिमिरेका अनुसार अन्य केही प्रहरी भने भ्रष्टाचार, आपराधिक घटना र आचरणविपरीत कृयाकलापमा जोडिँदा विभागीय कारबाहीमा परेर राजीनामा दिँदै बाहिरिने गरेका छन् ।

घिमिरेका अनुसार गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयहरूमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ । जसमा योजनबद्ध व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५ सय १० मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ जाहेरी परेका छन् । प्रहरीमा दैनिक एक सय ६० मुद्दा दर्ता हुने गरेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

उनले पत्रकारसँगको संवादमा मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याबारे जानकारी दिए ।

प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गरे ।

यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटका क्रममा रहेका पदहरू, नयाँ नियुक्तिर पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै प्रशिक्षणसम्बन्धी विवरण प्रस्तुत गरे ।

एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरणसम्बन्धी तथ्याङ्क समेत उनले प्रस्तुत गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताP ।

विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्