युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य – Kanika Khabar
Saturday, September 13Nepali News Portal

युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

    मा प्रकाशित

देउखुरी, २७ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय भई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले युवाहरूको उत्साह, चाहना र सोचका आधारमा सरकारले उद्यमशीलताको विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो । उहाँले युवालाई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

‘‘युवाको ऊर्जा, सिर्जनशीलता र नवप्रवर्तनबाटै समृद्धिको आकाङ्क्षा पूरा गर्न सक्छौं । सकारात्मक सोच र निरन्तरको प्रयासले मात्र समृद्धिको सपना पूरा हुने भएकाले यस अभियानमा सबै मिलेर अघि बढ्न जरुरी छ,’’ शुभकामना सन्देशमा भनिएको छ । ‘‘युवाहरू भविष्यका आधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् । युवाहरूको उत्साह र जोशलाई उत्पादनमा जोड्नु नितान्त आवश्यक छ ।’’ उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारले युवाको सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उद्यमशीलता, स्थानीय उत्पादनको प्रवर्द्धन र स्टार्टअप योजनामा विशेष ध्यान दिएको छ ।

विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै उत्पादनमुखी र रोजगारीमुखी कार्यमा संलग्न गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई युवाको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा घोषणा गरेको हो । सन् २००० देखि यो दिवस विश्वभर मनाइँदै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्