मदिराको तालमा पदीय मर्यादा गुमाउँदा … – Kanika Khabar
Friday, April 26Nepali News Portal

मदिराको तालमा पदीय मर्यादा गुमाउँदा …

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २०, दाङ ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी र उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका स्वकीय सचिव धर्म वलीले भट्टी पसलमा चर्तिकला देखाएका छन् । मदिराको तालमा पदीय आचरण विपरीत काम गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले उनीहरूलाई कारवाही सुरू गरेको छ ।

वडा नम्बर १२ का वडा अध्यक्ष समेत रहेका डाँगी नगरका प्रवक्ता समेत हुन् । काबा नगरप्रमुख भएकै बेला तुलसीपुर–४ मा रहेको एक घरमा मदिरा सेवन गरी गरिएको चर्तिकता सार्वजनिक भएपछि उनलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।

डाँगीलाई हटाएर वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेलाई कार्यबाहाक नगरप्रमुखको जिम्मेवारी तोकिएको छ । शुक्रबार लामिछानेलाई नगर प्रमुख नआउँदासम्मका लागि कार्यबाहक भएर काम गर्ने गरी तोकिएको प्रमुख घनश्याम पाण्डेले बताए । उनले पदीय मर्यादा विपरीत गतिविधि गर्नेलाई जिम्मेवारीमुक्त गर्ने काम सुरू भइसकेको बताए । काबा नगर प्रमुखको हैसियतले सूर्यबहादुर डाँगी, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राना, नगरप्रमुखका स्वकीय सचिव धर्म वलीलगायतको टोली अनुगमनको लागि वडा नम्बर ४ मा पुगेको थियो ।

सोही क्रममा भट्टी पसलमा मदिरा सेवन गरेर सामाजिक सञ्जालमार्फत लाइभ गतिविधि र बस्दासम्मको चर्तिकला सार्वजनिक गरी नगर प्रमुख, जनप्रतिनिधिलाई तथानाम गाली गर्दै मर्यादा बिर्सेको र मदिराको मातमा चुनौती दिएको सार्वजनिक भएपछि दुबैको पद खोसिएको हो । काबालाई शुक्रबारदेखि नै मुक्त गरिएको छ भने स्वकीय सचिवको हकमा कार्यालय खुलेपछि निर्णय हुने नगरप्रमुखको सचिवालयले जनाएको छ । शुक्रबार सार्वजनिक बिदा भएको र अर्काे दिन शनिबार परेको हुँदा सम्भव आइतवार यो निर्णय हुनेछ । नगरप्रमुखका स्वकीय सचिव धर्म वली सामाजिक परिचालकबाट तानिएका नासुस्तरका करार कर्मचारी हुन् । शुक्रबारदेखि धर्म वलीको सबै जिम्मेवारी खोसिएको नगरप्रमुखको सचिवालयले बताएको छ । नगरप्रमुख पाण्डेले पद र आचरण विर्सनेलाई कारवाही हुने बताए । नगरप्रमुख अहिले काठमाडांैमा छन् । उनी आए लगत्तै स्वकीय सचिवको बारेमा निर्णय हुने बुझिएको छ । नगरप्रमुख पाण्डे जिल्ला बाहिर रहेको समयमा काबा पाएका डाँगी र स्वकीय सचिव वलीलगायतका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको एक घरमा मदिरा सेवन गरेका थिए । नगरप्रमुखका स्वकीय सचिव धर्म वलीले अञ्जानमा गल्ती भएको बताए ।

कार्यबाहक नगरप्रमुखको जिम्मा पाएका वडा अध्यक्ष सूर्यबहादुर डाँगीले अनुगमनको क्रममा रक्षाचौरमा खाजा खाना बसेको त्यो दृष्य र अवस्था सार्वजनिक गरी फसाइएको बताए । सार्वजनिक भएको भिडियोमा सबैभन्दा बढी अभिब्यक्ति डाँगीबाटै आएको छ । नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले पदीय मर्यादा भुलेर मादकपदार्थ सेवन गरी मेयर, जनप्रतिनिधि र नेताहरूलाई खिल्ली उडाउनेहरूलाई कारवाही हुने बताए । ‘छानबिनबाट यो सत्य देखिएमा उहाँहरूलाई कारवाही गर्नुपर्ने अवस्था आउँछ’ उनले भने ‘जनप्रतिनिधि मर्यादामा बस्नुपर्छ । तुलसीपुरमा भएको यो कार्य बेठिक छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्