काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट बिदाइ हुने क्रममा मर्मस्पर्शी लेख लेखेर बिदाइ भएका छन्।
लामिछानेलाई शनिबार अपराह्न रुपन्देही कारागारबाट काठमाडौंको नख्खु कारागार स्थानान्तरण गरिएको छ।
सभापति लामिछानेलाई कारागारमा भेट्न पुगेका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले कारागार प्रशासनले अनुमति नदिएपछि भैरहवा विमानस्थलको यात्रु प्रतीक्षालयमा भेट गरेका थिए।
भेटका क्रममा लामिछानेले उनीहरूलाई आफूले कारागारको भित्तामा लेखेर आएको भनाइ सुनाएका थिए।
लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता झाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैनन्। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।’
लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधले ओली-देउवा सरकारले मंगलग्रहमा लगेपनि नडराउने स्पष्ट पारे।
लामिछानेले भनेका छन्, ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।’
मनिष झाको स्टाटस जस्ताको तस्तैः
कृष्ण जन्माष्टमी र Buddha Air-UA 860
आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौँ उपत्यका स्थित नख्खु कारागार स्थानान्तर गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।
हतारिएर, अनिश्चितताको सास फेर्दै
प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।
विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।
सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरणले कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।
मैले सोधे,
कति दिन भैरहवा बस्नु भयो? वहाँले भन्नु भयो १२६ दिन।
काठमाडौँ जानु हुदैछ, के सोच्दै हुनुहुन्छ?
वहाँले भन्नुभयो,
“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।”
“भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।”
“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।”
“म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।”
“४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।”
“तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।”
सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्यो। “अब काठमाडौँमा भेटौला है” भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको युए 860 बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौँ।