काठमाडौँ । साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको बताइएको छ ।
लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरीरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।
तनहुँको बन्दिपुरमा जन्मिएका नन्दनले केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसाय गरेका थिए । २०१९ सालमा नारायणगढ बजार झरेका नन्दनले राजधानी बाहिर बसेर नै आफूलाई स्थापित गराउन सफल भएका थिए ।
कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जालगायतका नेपाली चलचित्रमा उनले लेखेका गीतहरू चर्चित बनेका थिए ।
नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काव्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् ।
नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।