काठमाडाैँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालीट्ठ काङ्ग्रेसलाई तत्काल सरकारबाट फिर्ता हुन भनेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पार्टीलाई तुरन्त सरकारबाट बाहिरिन भनेका हुन्।
‘रातभर सुत्न सकिनँ। मजस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ’ थापाले लेखेका छन् ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’
सोमबार भएको जेनजीको आन्दोलनमा प्रहरीले ताकिताकि आन्दोलनकारीलाई गोली हानेको थियो। १९ जना युवाको ज्यान गएपछि साँझपख पार्टीसभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका थिए। त्यसमा पनि थापाले काँग्रेस सरकारबाट बाहिरिनुपर्छ भनेका थिए।
त्यही बैठकमा सभापति देउवाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन भनेका थिए। त्यसपछि मन्त्रिपरिषदको बैठकमा पुगेर लेखकले राजीनामा दिए।


