काठमाडौँ । नेपालको इतिहासमा कहिलेकाहीँ त्यस्ता व्यक्तित्व जन्मिन्छन्, जसले आफ्नो अस्तित्वलाई केवल व्यक्तिगत जीवनको सफलता वा पदसँग जोड्दैनन्, बरु उनीहरूको सम्पूर्ण जीवन नै राष्ट्र, समाज, न्याय र सामाजिक मूल्यमा समर्पण हुन्छ।
सुशीला कार्की त्यही नाम हो, जसले एक दशकको नेपालमा इतिहासका दुई पानाहरू कोर्न सफल भइन्। नेपालको न्यायिक इतिहासमा सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश भइन्। राजनीतिक परिवर्तन अनि व्यवस्थाको आकष्मिकताले फेरि उनी इतिहासको अर्को पानाको एउट सशक्त हस्ताक्षर बनिन्- नेपालको पहिलो कार्यकारी प्रमुख महिला भएर।
विश्वकै तुलनामा नेपाल एउटा यस्तो देश हो, जहाँ हरेक परिवर्तनको इतिहासमा एउटा न एउटा सशक्त महिला हस्ताक्षर कुँदिएको छ। चाहे त्यो जहाँनियाँ राणा शासन होस्, चाहे पञ्चायत पतनको त्यो इतिहास। वा २०६२-६३ को जनआन्दोलन नै किन नहोस् परिवर्तनका यी हरेक मोडमा नारी शक्ति नै निर्णायक देखिएको छ।
उनको जीवनयात्रा मोरङको विराटनगरबाट सुरु भएको हो। सामान्य परिवारमा जन्मिए पनि उनको सोच असामान्य थियो। शिक्षामा गहिरो लगाव, आत्मअनुशासन र न्यायप्रतिको मोहले उनलाई कानुनको बाटोतर्फ डोर्यायो। कानुन पढ्दै जाँदा उनले बुझिन् ,समाजलाई रुपान्तरण गर्ने असली शक्ति न्यायमै लुकेको छ।
वकिलको भूमिकाबाट नेपालभित्र न्यायिक यात्रा थालेकी उनले २०७३ साल असार २७ गते पहिलो महिला प्रधान न्यायाधीश बनेर इतिहास रचेकी थिइन्। त्यो केवल पदमा पुग्ने उपलब्धि मात्र थिएन, त्यो त देशको चेतनामा महिलाले पनि न्यायको सर्वोच्च आसनमा पुग्न सक्छन् भन्ने प्रमाण थियो। तर यो शिखर सजिलै आएको थिएन। न्यायालयको कठोर नियम, पुरुषप्रधान सोच र सत्ता राजनीतिको दबाबबीच उनले निडर भएर हिँड्नुपरेको थियो।
उनी प्रधान न्यायाधीश हुँदा केही फैसला यस्ता आए, जसले सत्ता पक्षलाई असहज पार्यो। तर सुशीला कार्कीले सत्यलाई कुनै दबाबले ढाक्न दिएनन्। उनी सधैं निष्पक्ष, निर्भीक र इमानदार भएर उभिइन्। यही निर्भीकताले नै २०७४ सालमा उनलाई संसदको कठघरामा पुर्यायो। नेपाली काङ्ग्रेस र माओवादी गठबन्धनले उनको विरुद्धमा महाअभियोग दर्ता गर्यो।
महाअभियोग, यो शब्द नै राजनीतिक प्रतिशोधको प्रतीक बन्यो। संसदमा प्रस्ताव दर्ता भएपछि कार्की निलम्बित भइन्। त्यो क्षण केवल एक न्यायाधीशको अपमान मात्र थिएन, त्यो क्षण न्यायालयमाथिको आक्रमण पनि थियो। तर समयले देखायो, महाअभियोग असफल भयो। जनताको आवाज, नागरिक समाजको समर्थन र न्यायप्रतिको आस्था अगाडि राजनीतिक खेल टिक्न सकेन। सुशीला कार्की अझ निखारिँदै जनमानसमा फर्किइन्।
बनारस हिन्दू विश्वविद्यालय र नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनपछि वकालत पेशामा प्रवेश गरेकी सुशीला कार्कीसँग विद्यार्थी कालीन राजनीतिका कैयन अनुभवहरू पनि छन्। नेपालको राजनीतिक इतिहासमा अग्रभागमा आउने कोइराला परिवारको निकटमा रहेका उनका पति दुर्गा सुवेदी काँग्रेस क्रान्तिका एक योद्धा पनि हुन्।
०३० सालमा तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान अपहरण भएको थियो। त्यो बेला पञ्चायतविरुद्ध लड्नका लागि नेपाली काँग्रेसले थालेको क्रान्तिलाई पैसा जुटाउन नेपाल राष्ट्र बैंकको पैसा लुट्न त्यो बिमान अपहरण गरिएको थियो। त्यो बिमान अपहरणका एक मुख्य योजनाकार थिए, दुर्गा। र, उनैले लेखेका छन् एउटा ऐतिहासिक किताब-विमान विद्रोह।
आज, उनै सुशीला कार्की नेपालको सम्भावित पहिलो महिला प्रधानमन्त्रीका रूपमा चर्चामा छिन्। उनको छवि न राजनीतिका धुलो मैलाले छोपेको छ, न भ्रष्टाचारको दाग, न निजी स्वार्थको बोझ उनको व्यक्तित्व इमानदारी र सत्यको आभामै चम्किएको छ।
देश संकट र अन्योलमा डुब्दै गएको यो बेला, सुशीला कार्की एउटा वैकल्पिक आशा हुन्। उनी प्रधानमन्त्री बन्दैगर्दा यो केवल पदको परिवर्तन मात्र हुनेछैन, त्यो नेपालको इतिहासमा नयाँ पृष्ठ लेखिने क्षण हुनेछ। त्यो क्षण महिला सशक्तीकरणको प्रमाण हुनेछ, त्यो क्षण न्याय र पारदर्शितामा आधारित नेतृत्वको सपना हुनेछ।
सुशीला कार्की उनी नाम मात्र होइनन्, उनी न्यायसँग नझुक्ने आत्मविश्वास हुन्। महाअभियोगले उनलाई हराउन सकेन, बरु अझ बलियो बनाएर जनताको मनमा बसाइदियो। आज उनको नाम उच्चारित हुँदा अनेक नेपालीको मनमा एउटा मात्र कुरा जाग्छ, ‘देशलाई इमानदार नेतृत्व दिने हो भने, अब सुशीला कार्की जस्ता व्यक्तित्वतर्फ फर्कनुपर्छ।’
सङ्क्षेपमा सुशीला कार्की
सुशीला कार्की (जन्म २००९ जेठ २५) सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधानन्यायाधीश हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।
व्यक्तिगत जीवन
उनी आफ्नो पिताको सात सन्तानमध्ये जेठी हुन्। उनको परिवार किसानी गर्दथे। उनीहरू विराटनगरस्थित बीपी कोइरालाको परिवारसँग नजिक थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहे पनि उनले भने अध्ययनका लागि कानुन रोजेको थिइन्। बनारस हिन्दु विश्वविद्यालय वाराणसीमा अध्ययनरत रहँदा नेपाली काङ्ग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भई उनीहरूको विवाह समेत भएको थियो।े
शिक्षा
सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बिए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी थिइन्। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन्।े
न्यायाधीशको रूपमा
उनको व्यावसायिक जीवन भने शिक्षण पेशाबाट सुरु भएको थियो। उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन्। उनी विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्षसमेत थिइन्। २०३५ सालबाट वकालत सुरु गरेकी उनी सन् २०६५ मा सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेकी थिइन्। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति हुनुपूर्व कार्की सर्वोच्च अदालतकै वरिष्ठ न्यायाधीश बनेकी थिइन्। २०६५ माघ ९ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी २०६७ मङ्सिर २ मा स्थायी न्यायधीश बनेकी थिइन्। प्रधानन्यायाधीशको रुुपमा सपथ २०७३ असार २७ मा लिएकी थिइन्। उनले न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरूमा फैसला गरेकी थिइन्।े
उल्लेखनीय फैसलाहरू
ओमभक्त राणा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगरनेपाल सरकार (सुडान शान्ति सेना भ्रष्टाचार)
नेपाल ट्रस्टको कार्यालय विरुद्ध प्रेरणा राज्यलक्ष्मी राणा (पूर्व राजकुमारीको सम्पत्ति)
पृथ्वीबहादुर पाण्डे विरुद्ध काठमाडौँ जिल्ला अदालत (अस्ट्रेलियामा पोलिमर बैङ्क नोटको छपाईमा भएको भ्रष्टाचार)
काठमाडौँ तराई द्रुतमार्ग प्रकरण
सरोगेसी सम्बन्धि मुद्दा
जयप्रकाश गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्की को नियुक्ति उल्ट्याउने
जयबहादुर चन्दलाई नेपाल प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय बदर
माओवादी जनयुद्धको मैना सुनारको बलात्कारपछि हत्या भएको मुद्दा संलग्न सैनिक अधिकृतहरुलाई जन्मकैदको फैसला
असफल महाभियोग
प्रधानन्यायाधीश रहेकै बेला सुशीला कार्की विरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता नभएको आदि कारण देखाउँदै महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन असफल भएको थियो। कार्की विरुद्ध १७ वैशाख २०७४ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो। तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र पनि दिइएको थियो। नेकपा (एमाले) लगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाउन भने सकेको थिएन। २२ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाएका थिए र कार्की पुनm सर्वोच्च अदालत फर्किएकी थिइन्।
सर्वोच्च अदालतबाट विदा
प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि २०७४ जेठ २३ मा सर्वोच्च अदालतबाट बिदा भएकी थिइन्। उनको कार्यकाल बुधबार (जेठ २४ गते) सकिएको थियो।े
साहित्यमा
कार्कीले दुई पुस्तकहरू प्रकाशित गरिसकेकी छिन्। उनको पहिलो आत्मकथात्मक पुस्तक न्याय २०७५ असोज १२ मा प्रकाशित भएको थियो र उनको दोस्रो पुस्तक, उपन्यास कारा, मङ्सिर २०७६ मा प्रकाशित भएको थियो।