
काठमाडौं । मौसमविद्हरुले दुई राजमार्ग बन्द गर्न सुझाएका छन् । भोलि शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका हुन् ।
हिजोदेखि नै सामान्य झरी परेको छ । हिजो अपराह्नदेखि काठमाडौं लगायतका ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाउँदै आएका छन् । भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ ।
भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरेको छ । त्यहाँ विकसित भएको प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने मौसमविद्हरु बताउँछन् ।
शनिबारदेखि नै वीरगञ्ज आसपासदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेशभर नै पानी पर्नेछ ।
पश्चिममा बुटवल/भैरहवादेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पानी पार्ने प्रणालीले गोरखा र तनहुँसम्म प्रभावित पार्ने आँकलन छ ।
जोखिमयुक्त राजमार्ग मात्रै होइन, अति भारी वर्षाका बेला काठमाडौं उपत्यकाकै आवतजावत नियन्त्रित हुनुपर्ने विज्ञहरु बताउँछन् ।
यसपालि भारी वर्षा हुने सम्भावित ठाउँमा काठमाडौं उपत्यका र विशेष गरी दक्षिणी भाग देखिएको छ । त्यस्तो अवस्थामा राजमार्ग सञ्चालन गरेर यात्रुहरुको ज्यान जोखिममा पार्नुभन्दा बन्द गर्नु नै उचित हुने पोखरेलको सुझाव छ ।
काठमाडौं भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन–नागढुंगा राजमार्गका विभिन्न ठाउँहरु यसै पनि पहिरोको जोखिममा छन् । त्यसैगरी हेटौंडाबाट काठमाडौं आउने सडक, बनेपा–बर्दिबास राजमार्ग अनि वरपरका जिल्लाबाट राजमार्ग छिर्ने सडकहरुलाई बन्द गर्नु उचित हुने मौसमविद्हरुले जनाएका छन् ।


