दाङ, २७ कात्तिक । नागरिक समाज दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गासम्बन्धी विवादप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजले दुवै पक्षलाई संवेदनशीलता र सहमतिको बाटो अवलम्बन गर्न आग्रह गरेको छ ।
प्रतिष्ठान स्वामित्वमा रहेको घोराही–१४ स्थित कि.नं. १ र २१ नम्बरका जग्गामा भाडामा लिइएका संरचनाको सम्झौतासम्बन्धी विवादले पछिल्ला दिनमा सरोकारवालाको ध्यान तानेको छ । तोकिएको भाडा अवधि सकिए पनि सम्झौताअनुसार व्यवहार नहुँदा प्रतिष्ठानले पटक–पटक सार्वजनिक सूचना जारी गर्नु परेको नागरिक समाजले जारी विज्ञप्तीमा भनिएको छ ।
‘प्रतिष्ठानले हालै प्रकाशित सूचनामा २०८२ कात्तिक ३० गतेभित्र जग्गा खाली नगरेमा मङ्सिर ३ गते सरकारका प्रतिनिधि, स्थानीय प्रशासन र जनप्रतिनिधिको उपस्थितिमा संरक्षण हटाउने कार्य अघि बढाइने उल्लेख गरेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।
यस घटनालाई संवेदनशील ठहर गर्दै नागरिक समाज दाङले दुवै पक्षलाई प्रारम्भिक सम्झौतामा भएको सौहार्दता र सहमतिको भावना कायम राखी समस्याको समाधान गर्न आग्रह गरेको हो । प्रतिष्ठानले हाल एमवीवीएस, एमडी र वीएससी नर्सिङ तहसम्मको अध्ययन सञ्चालन गरिरहेको छ भने चार सय शैयाको आधुनिक अस्पताल निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढाइरहेको छ ।
प्रतिष्ठानको समग्र प्रगति र भौतिक पूर्वाधार विकास राप्ती क्षेत्रकै गौरवको विषय रहेको नागरिक समाजको भनाइ छ । समाजका संयोजक निमबहादुर थापा, पूर्व संयोजक चन्द्रराज पन्त र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तीमा प्रतिष्ठानको समग्र विकास, स्वास्थ्य सेवा सहज उपलब्ध गराउने कार्य र जनताको विश्वास सुदृढ बनाउन सबै राजनीतिक दल, स्वास्थ्य क्षेत्रका सरोकारवाला संस्था र सर्वसाधारणको साझा सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।


