दाङ । नेपाल मगर लेखक सङ्घ, दाङशाखाको आयोजनामा आज शनिवार दाङको घोराहीमा मगर खाम भाषाको कविगोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । कविगोष्ठीमा कविहरु विष्णु बुढामगर, श्याम सुन्दर घर्तीमगर, एच.बी. थापामगर, गायत्री घर्तीमगर, चन्द्रबहादुर पुनमगर, दर्जित रोकामगर लगायतले मगर खाम भाषाका कविता र गीतहरु वाचन गरेका थिए ।
यसैगरी कविहरु यम रेग्मी, सुरेशकुमार पाण्डे, पुरन शर्मा, मिरा घर्तीमगर आदिले खस नेपाली भाषाका रचनाहरु प्रस्तुत गरेका थिए ।
शाखा अध्यक्ष चन्दबहादुर पुन मगरको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय, सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. टीकाराम उदासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकामगर, प्रगतिशील लेखक सङ्घ, दाङशाखा अध्यक्ष चन्द्रबहादुर थापामगर, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली, नेपाल मगर सङ्घका केन्द्रीय अनुशासन विभागका संयोजक कर्णबहादुर बुढामगर, नेपाल मगर सङ्घ दाङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शीतलाल पुनमगर, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी लगायतले आआफ्ना मन्तव्य प्रस्तुत गरेका थिए ।
शाखा उपाध्यक्ष केशव स्थापित घर्तीमगरले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन शाखा सचिव सरस्वती रोकामगरले गरेका थिए । गोष्ठीमा दाङका विभिन्न लेखकसाहित्यकार तथा बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


