दाङ, २१ मङ्सिर ।
स्वर्गीय सुनिल पुन मगर स्मृति दोस्रो रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक न्यु स्टार फुटबल एकेडेमी र सल्यान टेक फुटबल क्लव प्रवेश गरेका छन् ।
घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित बिपी बाटिका खेल मैदानमा आइतवार भएको क्वाटरफाइनल खेलमा न्यु स्टार फुटबल एकेडेमीले घोराही–१४ को झिगौरा फुटबल क्लवलाई ३–० अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
त्यसैगरी दोश्रो खेलमा सल्यान टेक फुटबल क्लबले बिएफएललाई २–१ को रोमाञ्चक जितसहित हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगिताका बाँकी दुई क्वाटरफाइनल खेल सोमवार हुने आयोजकले जनाएको छ । दिउँसो १ बजे पहिलो खेलमा लुम्बिनी फुटबल एकेडेमी र युएनबिसी क्लव घोराहीका बिच हुने भने दोस्रो खेलमा मगर एकता समाज चारबगिया र बिवाइसी भिड्ने भएका छन्।
न्यु स्टार फुटबल एकेडेमीको आयोजना तथा प्रकृति लोक सांस्कृतिक क्लवको व्यवस्थापनमा गत शुक्रवारदेखि सुरु भएको यो प्रतियोगिता स्वर्गीय सुनिल पुन मगरको सम्झनामा आयोजना गरिएको हो । प्रतियोगिताको विजेता टिमले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।


